काठमाडौं- गणपूरक संख्या नपुगेपछि मंगलबार बिहान स्थगित संवैधानिक परिषद्को बैठक साँझ बस्ने भएको छ।
परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक डाकेका हुन्। बिहान प्रधानमन्त्री ओलीले डाकेकाे परिषद् बैठक सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बस्न सकेन।
सभामुख सापकोटा बैठकअघि हुनुपर्ने समन्वय नभएको र गृहकार्य पनि नभएको भन्दै बैठकमा नगएका हुन्। प्रधानमन्त्री ओलीले कुनै छलफल नै नगरी बैठक बोलाएकाले सभामुख सापकोटा बैठकमा नगएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए।
६ सदस्यीय परिषद्मा कम्तीमा ५ जना उपस्थित हुनुपर्ने व्यवस्था छ। उपसभामुख चयन नभएका कारण परिषद्मा हाल पाँच जना मात्रै सदस्य छन्। सभामुख नगएसँगै परिषद्को बैठक स्थगित भएको हो।
सभामुख सापकोटा आइतबारको बैठकमा पनि उपस्थित भएका थिएनन्। आइतबार बैठकमा नगएका प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा भने सोमबार बिहानको बैठकमा उपस्थित भएका थिए।
बिहानको बैठकमा नगएका सभामुख साँझको बैठकमा नगए बैठक के हुन्छ भन्ने अन्योल कायमै छ। सभामुख बैठकमा सहभागी हुने नहुने विषयमा आन्तरिक छलफलमा रहेको स्रोतले जनाएको छ।
दल र नेताहरुबीच भागबन्डा नमिल्दा संवैधानिक निकाय लामो समयदेखि पदाधिकारी विहीन भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगायत आधा दर्जनभन्दा बढी संवैधानिक निकायका ४५ बढी पद रिक्त छ।