विराटनगर– विराटनगरमा मंगलबार बिहान यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ।
हावापानी फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाका अनुसार मंगलबार बिहान विराटनगरको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस मापन गरिएको छ। यो तापक्रम वर्षकै सबैभन्दा कम रहेको उनको भनाइ छ। सोमबार विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री र आइतबार १३.६ डिग्री सेल्सियस मापन गरिएको थियो।
केही दिनदेखिको बाक्लो हुस्सु र कुहिरो तथा चिसो हावासँगै शीतलहर चल्न सुरु भएपछि विराटनगर लगायत पूर्वी तराईको जनजीवन कष्टकर बन्दै गएको छ।
चिसोका कारण आर्थिक अवस्था कमजोर भएकाहरु, बस्ने घरको उचित व्यवस्थापन हुन नसकेका, सुकुम्बासी, गर्भवती, वृद्धवृद्धा र बालबालिकालाई बढी कष्ट भएको छ।
चिसोका कारण बजार, सार्वजनिक स्थल, सरकारी कार्यालयमा सर्वसाधारणको चहलपहल कम छ। सरकारी कार्यालयमा सेवाग्राहीको संख्या सामान्य अवस्थाको भन्दा कम हुँदै गएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए।
चिसो बढेसँगै अस्पतालमा विरामीको चाप बढ्दै गएको छ। कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले चिसोका कारण रुघाखोकी, निमोनिया, कोल्ड डायरिया तथा श्वासप्रश्वासका बिरामीको संख्यामा वृद्धि भएको बताए।
अस्पतालमा चिसोका कारण बिरामीको चाप वृद्धिसँगै आकस्मिक कक्षमा शैयाको अभाव हुने अवस्था समेत आएको उनले बताए।
मौसममा आएको खरावीका कारण भिटिभिलिटी कम हुँदा दैनिक व्यस्त रहने विराटनगर विमानस्थलमा समेत जहाज अवतरण र उडानमा समस्या भइरहेको विमानस्थल प्रमुख उत्सवराज खरेलले जानकारी दिए।
उडान प्रभावित हुँदा यात्रुहरु मारमा परेका छन् । खरेलले मौसम परिवर्तनसँगै उडान सुचारु हुन नसक्दा यात्रुले समयमै गन्तव्यमा पुग्न नपाउने गरेको र कतिपय उडान रद्ध हुँदा यात्रु गन्तव्यमा जान नपाइकन फर्कनुपर्ने अवस्था रहेको सुनाए।
चार–पाँच दिनदेखि उडान ढिलो हुने र रद्ध गर्नुपर्ने समस्या कारण हवाई उडान प्रभावित बनिरहेको उनले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले चिसोबाट सर्वसाधारणलाई जोगाउने उपायको खोजी थालिएको बताए।
चिसोले सबैलाई गाँज्दै लगेको अवस्थामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णय लिने तयारी भइरहेको उनको भनाइ छ । चिसोबाट प्रभावितलाई जोगाउनका लागि गृह मन्त्रालयबाट १० लाख रुपैयाँ प्राप्त भएको निरौलाको भनाइ छ।