महोत्तरी- महोत्तरीसहितका मध्यपूर्वी तराई र पश्चिम तराईमा यसपालि मङ्सिर सकिँदा नसकिँदै चिसोको कहर बढेको छ।
चिसोसँगै शितलहरका कारण जनजीवन प्रभावित बन्दै गएको हो। विगतका वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो।
गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा जनजीवन अत्यन्त कष्टकर बनेको छ। सोमबार पश्चिम तराईमा पनि बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको हो।
गत आइतबारयता तराई क्षेत्र बिहान हुस्सुले ढाक्दै आएको छ। मध्याह्नसम्म घाम देखिँदैन। त्यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि मङ्सिरमा नै जाडो निकै बढेको हो।
महोत्तरीको पूर्वपश्चिम राजमार्ग वरपर तुसारोसँगै सिरेटो चलेको छ भने मध्य र दक्षिणी क्षेत्रमा भने बाक्लो हुस्सुले ढाक्दै आएको छ।
तुसारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्कन नसकेपछि बजारमा चहलपहल घटेको छ। एक्कासि बदलिएको मौसमले व्यापार व्यवसाय मात्र नभएर कृषिकार्य पनि प्रभावित भएको छ।
लगातारको चिसो सिरेटोले घरपालुवा पशुवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको महोत्तरीका पशुपालक किसानको गुनासो छ।
चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र स–साना नानीहरूको स्याहारसम्भार कठिन भएको छ। घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन्।