काठमाडौं- सत्तारुढ नेकपाभित्रको विवाद संवैधानिक परिषद्सम्म पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद बैठकमा सभामुख अग्नि सापकोटा सहभागी नभएसँगै नेकपा भित्रको विवादको बाछिट्टा संवैधानिक परिषद्सम्म पुगेको हो ।
सभामुख सापकोटा बैठकअघि हुनुपर्ने समन्वय नभएको र गृहकार्य पनि नभएको भन्दै बैठकमा नगएका हुन् । उनी यसअघि आइतबार डाकिएको परिषद्को बैठकमा पनि सहभागी भएका थिएनन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाटीमा कुनै छलफल नै नगरी प्रधानमन्त्री ओलीले बैठक डाकेको भन्दै असन्तुष्टि जनाएका थिए । पाटीमा विवाद चर्किएको र स्थायी कमिटी बैठक चलिराखेको बेला राजनीतिक नियुक्तिका लागि परिषद्को बैठक बोलाएको भन्दै दाहालले आपत्ति जनाएका थिए ।
स्रोतका अनुसार दाहालकै आग्रहमा सभामुख सापकोटा बैठकमा नगएका हुन् । पाटीमा कुनै सहमती नभएसम्म बैठकमा सहभागी नहुन दाहालले सभामुख सापकोटालाई आग्रह गरेको स्रोतको दाबी छ ।
सभामुख नगएपछि आज पनि संवैधानिक परिषद्को बैठक गणपुरक संख्या नपुगेपछि अनौपचारिक छलफलमा सिमित भएको छ । ६ सदस्यिय परिषद्मा कम्तिमा ५ जना उपस्थित हुनु पर्ने ब्यस्था छ । उपसभामुख चयन नभएका कारण परिषद्मा हाल ५ जना मात्रै सदस्य छन् । सभामुख नगएसँगै परिषद्को बैठक स्थगित भएको हो ।
यसअघि आइतबार बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटा सहभागी भएका थिएनन् ।
लगातार बैठक स्थगित हुँदा संवैधानिक निकायहरु लामो समयदेखि पदाधिकारी बिहिन भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोग लगायत आधा दर्जनभन्दा बढी संवैधानिक निकायका ४५ बढी पद रिक्त छ ।