बैतडी– उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दा चलाउन थालिएको छ।
उपभोक्ता ठग्ने व्यापारीलाई खाद्य ऐन, नियम उल्लंघनसम्बन्धी मुद्दा दायर गरेर कारवाही गरिन थालिएको हो।
चालु आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयमा चारवटा मुद्दा दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।
उनले भने, ‘दुई मुद्दाको फैसला भइसकेको छ, दुई मुद्दा विचाराधीन अवस्थामा छन्, फैसला भएका मुद्दामा एक मिठाइ पसले र एक होटललाई पाँच–पाँच हजार जरिवानाको फैसला भएको छ।’
फैसला हुन बाँकी मुद्दा पनि खाद्य पदार्थवाला रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
यस्तै सातवटा मुद्दा दर्ता तयारीमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। ‘बजार अनुगमनका क्रममा २७ वटा नमूना संकलन गरिएका थिए, संकलित नमूनामध्ये प्रयोगशालामा परीक्षण गर्दा सातमा कैफियत रहेकाले मुद्दा दर्ताको तयारी भएको हो,’ उनले भने।
संयुक्त बजार अनुगमन टोलीले अनुगमनकै क्रममा तत्काल चार व्यापारीलाई सात हजार पाँच सय जरिवाना गरिएको जनाएको छ। अनुगमन टोलीले चालु आवको हालसम्म बजार अनुगमनका क्रममा आठ लाख बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको जनाएको छ।
जिल्लाको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाहेकका अन्य स्थानीय तहमा पहिलो चरणको अनुगमन सम्पन्न गरेको जनाइएको छ। अनुगमन कार्यलाई केही दिनमै निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।