काठमाडौं- मौसम सफा भएसँगै शीत पर्ने क्रम बढ्दै जाँदा देशभर थप चिसो बढेको छ ।
काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम स्वाट्टै घटेको छ । हिजो (सोमबार) न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएकोमा आज ३ डिग्रीमा झरेको हो ।
आज बिहान साढे बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्रीमा झरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो ।
आइतबार ४ं.५ डिग्री तापक्रम थियो भने सोमबार ४ डिग्री र मंगलबार ३ डिग्री मापन गरिएको छ। तापक्रम अझै घट्ने र चिसो थप बढ्न सक्ने मौसमविद् नगरकोटीले बताइन् ।
काठमाडौं उपत्यका मात्रै नभइ देशैभरको तापक्रम घट्दै गएको छ । जुम्लाको तापक्रम माइनस ६.५ डिग्री, जिरीको माइनस २.५, जोमसोमको माइनस ०.५ डिग्री सेल्सियस मापन गरिएको छ ।
हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली भने छैन । तर तराई–मधेसका अधिकांश भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका अधिकांश भाग र पहाडका केही भागहरुमा हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।
महाशाखाका अनुसार आज प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।