काठमाडौं- संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक आज मंगलबार बस्दैछ।
आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नगएपछि स्थगित भएको बैठक आज बिहानका लागि बोलाइएको हो ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोग लगायत आधा दर्जनभन्दा बढी संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका विषयमा छलफल हुने भएको छ।
बैठक बसे र सहमति भए आजै केही निकायमा नियुक्तिको सम्भावना रहेको स्रोतले जनाएको छ। तर, आजको बैठक पनि चल्ने विषयमा अन्योल कायमै देखिएको छ।
बैठकमा सहभागी हुने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले कुनै ठोस जवाफ दिएका छैनन्। नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि असन्तुष्ट रहेका कारण उनी निकट मानिने सभामुख अग्नि सापकोटा पनि बैठकमा सहभागी हुने सम्भावना न्यून रहेको स्रोतको दाबी छ।
यसअघि आइतबारका लागि बैठक बोलाइए पनि देउवा र सभामुख सापकोटा गएका थिएनन्। प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच केहीबेर अनौपचारिक कुराकानी भएको थियो।
दाहाल असन्तुष्ट
पार्टीभित्र विवाद चर्किरहेका बेला राजनीतिक नियुक्ति गर्ने गरी प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक डाकेको भन्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका छन्।
पार्टी स्थायी कमिटी बैठक बसिरहेको समयमा पार्टीसँग कुनै सल्लाह नै नगरी संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति गर्न खोजिएको भन्दै दाहाल ओलीसँग रुष्ट भएको एक नेताले नेपाल समयलाई बताए।
ओलीले यसअघि मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस लगायतमा एकलौटी गरेझै यस पटक एकलौटी गर्न खोजेको भन्दै अन्य नेताहरु असन्तुष्ट बनेका छन् ।