काठमाडौं। हास्य कलाकार मनोज गजुरेलले आफूमाथि आधारहीन आरोप लगाउनेविरुद्ध कानुनी उपचार खोज्ने भएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु।’
मनोज र मीना ढकालबीच झण्डै तीन वर्षअघि डिभोर्स भएको थियो।
कानुनीरूपमै आ-आफ्नो बाटो लागिसकेपछि पनि अर्को पक्ष (मीना ढकाल) ले विभिन्न माध्यमबाट बारम्बार गाली बेइज्जती गर्ने क्रम नरोकेेकाे मनोजले उल्लेख गरेका छन्।
अनावश्यक तनाव बढ्दै गएर छोराछोरीलाई धेरै ठूलो असर गरेकाे उनको भनाइ छ।
‘मेरो चरित्रमाथि खेलवाड भएको ठान्दैछु। अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई सार्वजनिक गर्न बाध्य भएको ठान्दैछु,’ उनले भनेका छन्।
साथै उनले मिनाले अंशसहित आफूसँगै बस्न लगेकी छोरी आठ महिनामै आमासँग बस्न नरुचाएर घर आएको पनि सार्वजनिक गरेका छन्।
‘अर्को पक्षले भनेझैं हामीबीच कुनै लेनदेन बाँकी छैन, छोरीको नाममा लगेको अंशबाहेक। तर, सामाजिक सञ्जालमा अर्को पक्षबाट बारम्बार ममाथि हुने अनावश्यक टीकाटिप्पणी, युट्युबमा उनीहरूका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाइ र जीवनमा आघात परिरहेको छ,’ फेसबुकमा उनले उल्लेख गरेका छन्।
उनले अब कानुनीरूपमा न्यायका लागि अगाडि बढ्न थालेको बताएका छन्।