जनकपुरधाम। जनकपुरधाममा नगर दर्शन विधिसँगै विवाहपञ्चमी महोत्सव सुरु भएको छ।
एक हप्तासम्म चल्ने विवाहपञ्चमी महोत्सवको पहिलो दिन सोमबार नगरदर्शन विधि सम्पन्न भएको छ।
कोरोना महामारीका बीच भइरहेको नगरदर्शन यसपटक प्रभावित भएको छ।
अन्य वर्ष जानकी मन्दिरको प्राङ्गणमा यो विधि गरिन्थ्यो। तर, यसपटक भने मन्दिर प्राङ्गणभित्रै केही साधुसन्त तथा श्रद्धालुका बीच सम्पन्न भएको हो।
हरेक वर्ष विवाहपञ्चमी सुरु भएपछि भरिभराउ हुने जनकपुरधाम यसपालि भने सुनसानजस्तै छ।

यस वर्ष जानकी मन्दिरको प्राङ्गणमा रामलीलाका लागि लगाइएको पण्डालभित्रै नगर दर्शनको झाँकी प्रस्तुत गरिएको थियो।
मिथिला नरेश राजा जनकको छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा एक हप्तासम्म वैवाहिक कार्यक्रम मनाइने गरिन्छ।
संस्कृतिविद्का अनुसार भगवान राम र लक्ष्मण पहिलोपटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ।

नगरदर्शन विधिको अवसरमा मिथिलाको राजधानीमा मंगलगानसमेत गाइएको थियो।
मंगलमय दिन आजु हे, पाहून छथि आयल !
धनि–धनि जागल भाग हे, मन कमल फुलायल !!
मंगलमय दिन ‘‘ !!
मंगलघट सँ द्वारि सजाओल,
कंचन दीया बारि हम लाओल ,
गांथल हार गुलाब हे, हिनका पहिराओल !
मंगलमय दिन ‘‘‘!!
त्रेता युगमा समेत भगवान राम लक्ष्मण जनकपुरधाम आएपछि यस्तै स्वागत गान गाइएको हुन सक्ने संस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन्। यो विषयमा वाल्मीकि रामायणमा समेत उल्लेख रहेको पाइन्छ।
विवाहपञ्चमी महोत्सवअन्तर्गत दोस्रो दिन मंगलबार फूलबारी लीला, बुधबार धनुष यज्ञ, बिहीबार तिलकोत्सव, शुक्रबार मटकोर, शनिबार मुख्यदिन शुभविवाह र अन्तिम दिन रामकलेवा गरी विधिवतरूपमा यस समारोहको समापन गरिनेछ।