काठमाडौं। वाणिज्य बैंकहरूको कर्जा बढ्न थालेको छ।
नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूले मंसिर ५ गतेदेखि २६ गतेसम्ममा ३५ अर्ब रूपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्।
यो अवधिमा २० अर्ब रूपैयाँले मात्र निक्षेप बढाएका छन्। दुई सातामा कर्जा लगानी निक्षेपभन्दा १५ अर्ब रूपैयाँले बढेको छ।
कोभिड-१९ का कारण थला परेको निजी क्षेत्र विस्तारै बौरिन थालेपछि वाणिज्य बैंकहरूको कर्जामा वृद्धि भएको संघले जनाएको छ।
यद्यपि नेपाल राष्ट्र बैंकले भने पछिल्लो समयमा बैंकहरूबाट गएको ऋण गलत ठाउँमा प्रयोग भइरहेको हुन सक्ने भन्दै निगरानीसमेत बढाइरहेको छ।
संघले सोमबार प्रकाशित गरेको विवरणअनुसार मंसिर २६ गतेसम्ममा बैंकहरूले ३६ खर्ब ९४ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् भने ३१ खर्ब एक अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्।