मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उखु किसानलाई उद्योगमन्त्रीले भने– सडकमा भेला हुँदैमा पैसा पाइँदैन

उखु किसानलाई उद्योगमन्त्रीले भने– सडकमा भेला हुँदैमा पैसा पाइँदैन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्दोलिन उखु किसानलाई सडकमा भेला भएर आन्दोलन गर्दैमा उखुको पैसा नपाइने बताएका छन्।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्दोलिन उखु किसानलाई सडकमा भेला भएर आन्दोलन गर्दैमा उखुको पैसा नपाइने बताएका छन्।

नेपाल समयसँग कुरा गर्दै मन्त्री भट्टले आन्दोलित किसानलाई वार्तामा बोलाउँदा पनि नआएको भन्दै सडकमा आन्दोलन गर्दैमा समस्या समाधान नहुने बताएका हुन्। 

मन्त्री भट्टले उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रालाई मन्त्रालयबाट फोन गरी वार्ताका लागि बोलाउँदा किसानको प्रतिनिधि कोही पनि नगएको बताए। भट्टले भने, ‘अनौपचारीक रुपमा धेरैपटक बोलायौं तर उनीहरु आएनन्। अब औपाचारीक रुपमा बोलाउँछौं। अघिल्लो सम्झौताको कार्यान्वयन भयो–भएन भनेर समीक्षा गर्न आउनुपर्छ, त्यतिकै मन्त्रालयलाई पनि कसरी थाहा हुन्छ ? त्यसै सडकमा आएर र मिडियाबाजी गरेर कार्यान्वयन हुन्छ ?’

संघर्ष समितिका संरक्षक मिश्रा भने गत वर्षझैँ उधारो सम्झौता नगर्ने बताउँछन्। वार्ता र सम्झौता गत वर्ष नै भएको भन्दै फेरि यसपटक किसानहरु वार्तामा नजाने निर्णय गरेको उनले जनाए। 

मन्त्री भट्टले उखु मिलका सञ्चालकलाई कठालो समातेर पैसा तिर्न बाध्य बनाउने जिम्मा आफ्नो नभएको बताएका छन्। भट्टले भने, ‘उद्योग मन्त्रालयले कानुनी प्रकृयाअनुसार काम गर्ने हो। मन्त्रालयले मिल सञ्चालकलाई पत्राचार गरेको छ भने ऊर्जा र गृह मन्त्रालयलाई पनि पत्राचार गरिसकेको छ।’

मन्त्री भट्टले मिल सञ्चालकहरुले भुक्तानी रकम घटाउँदै गएको बताए । भट्टका अनुसार अन्नपूर्ण र श्रीराम सुगर मिल २ वटा मिलको समस्या छ। तर किसानहरुले समग्र मिलको समस्या देखाएका छन्। 

अन्नपूर्ण र एभरेष्ट मिलका एउटै मालिक हुन्, राकेश अग्रवाल। गत वर्ष राकेश अग्रवालले किसानहरुलाई ३५ करोड भुक्तानी गर्न बाँकी थियो। अग्रवालको ३५ करोड जति थियो, अहिले १२ करोडमात्रै बाँकी छ। भट्टका अनुसार अग्रवालले केही दिनमै ८ करोड भुक्तानी  गर्ने भनेका छन्। यदि यो भएन भने असुल उपर गराउन गृहलाई भनिसकेको मन्त्री भट्टले नेपाल समयलाई जानकारी दिए। 

त्यस्तै श्रीराम सुगर मिलको गत वर्ष ९२ करोड भुक्तानी बाँकी रहेकोमा अहिले श्रीरामले २७ करोडमात्रै बाँकी छ। बाँकी रकम मिलले प्रकृया अनुसार तिर्छौं भनेका छन्। मन्त्रालयले यसै विषयमा छलफल गरिरहेको भट्ट बताउँछन्। 

मन्त्रालयले कुन किसानको कति रकम कुन मिलबाट लिन बाँकी छ, मन्त्रालयलाई डाटा उपलब्ध गराउन आग्रह गरेको मन्त्री भट्टले बताए । ‘एकमुष्ट रुपमा रकम थाहा भए पनि कुन किसानको कुन मिलबाट कति रकम लिन बाँकी छ भन्ने जानकारी नै मन्त्रालयलाई थाहा छैन,’ उनले भने। मन्त्री भट्टका अनुसार किसानहरुसँग त्यो डाटा पनि छैन, संघर्ष समितिले यकिन तथ्यांक दिएका छैनन्। मन्त्रालयले मिल मालिकलाई बोलाएर भुक्तानी गर्न भनेको छ तर मन्त्रालयसँग यकिन तथ्यांक नहुँदा पनि समस्या छ। 

गत वर्ष पुष १८ मा भएको सम्झौता कार्यान्वयन नभएपछि उखु किसानहरु आइतबारदेखि माइतीघर मण्डलामा आन्दोलित छन्। 

प्रकाशित: Dec 14, 2020| 11:50 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।