मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं महानगरले पुरस्कारका नाममा बाँड्यो ८८ लाख, जनप्रतिनिधिलाई सुनको तक्मा  

काठमाडौं महानगरले पुरस्कारका नाममा बाँड्यो ८८ लाख, जनप्रतिनिधिलाई सुनको तक्मा  

महानगरले विभिन्न सात शीर्षकमा २१३ जनालाई पुरस्कृत गरेको छ। जसमा महानगरकै जनप्रतिनिधि र कर्मचारी समावेश छन्। 
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं–  काठमाडौं महानगरपालिकाले आफ्नो स्थापना दिवसका दिन लाखौं रकम पुरस्कारका नाममा बाँडेको छ।   पुरस्कार पाउनेमा जनप्रतिनिधि, पत्रकार, कर्मचारी लगायत छन्। 

सोमबार २६ औं स्थापना दिवस मनाएको काठमाडौं महानगरपालिकाले पुरस्कारका नाममा ८८ लाख बाँडेको हो।  महानगरले विभिन्न व्यक्तिलाई सुन र चाँदी जडित तक्मासहित नगद वितरण गरेको छ। 

काठमाडौं कोरोना महामारीबाट सबैभन्दा प्रभावित छ। देशको सबैभन्दा जेठो महानगरपालिका भने महामारीका कारण सिर्जित समस्या समाधान गर्ने प्रमुख दायित्वबाट विमुख भएर लोकरिझ्याइँका लागि पुरस्कार वितरणमा केन्द्रित छ।  

महानगरले विभिन्न सात शीर्षकमा २१३ जनालाई पुरस्कृत गरेको छ। जनप्रनिधि र कर्मचारीलाई त महानगरले एक तोला सुन र एक तोला चाँदी जडित तक्मासमेत वितरण गरेको छ।  

महानगरले जनकमान सम्मान शीर्षकमा चार जनालाई जनही एक लाखका दरले चार लाख, स्थानीय गौरव महानगर सेवा पदक शीर्षकमा पाँच जना जनप्रतिनिधिलाई एक लाखका दरले पाँच लाख पुरस्कार दिएको छ। 

सोही शीर्षकमा महानगरका पाँच कर्मचारीलाई एक लाखका दरले पाँच लाख पुरस्कार वितरण गरिएको छ।  

स्थानीय गौरव महानगर सेवा पदक शीर्षकको पुरस्कार प्राप्त गर्ने १० जनाले एक तोला सुन र एक तोला चाँदी जडित प्रतिगोटा एक लाख पर्ने पदकसमेत प्राप्त गरेका छन्। 

यस्तै प्रथम मेयर जनकमान श्रेष्ठ स्वशासन पुरस्कार चार जनाले पाएका छन्। उनीहरुले जनही एक लाखका दरले चार लाख पाएका छन्। 

महानगर कर्मचारी पुरस्कार १० जनाले पाएका छन्। उनीहरुले जनही २५ हजार रुपैयाँ पाएका छन्।  

महानगरले सुशासन पत्रकारिता पुरस्कारबाट १० जना पत्रकारलाई जनही ५० हजारका दरले पुरस्कृत गरेको छ। 

महानगर क्षेत्रका बाजागाजा संरक्षणका लागि भन्दै महानगरले परम्परागत बाजाका १७५ जना गुरुहरुलाई जनही ३० हजारका दरले पुरस्कार वितरण गरेको छ। 

प्राथमिकता एकतातिर, ध्यान पुरस्कारतिर

महानगरले प्रत्येक वर्ष विभिन्न शीर्षकमा पुरस्कार बाँड्दै आएको छ। पुरस्कारको औचित्यबारे महानगरका प्रवक्ता ईश्वरमान डंगोललाई प्रश्न गर्दा उनको जवाफ छ, ‘यो हाम्रो लगानी हो।’  

उनले परम्परागत बाजागाजाको संरक्षण गर्न महानगरले लगानी गरेको सुनाए।

‘संस्कृति जोगाउनका लागि सांस्कृतिक लगानीका रुपमा यसलाई लिनुपर्छ,’ उनले भने, ‘पत्रकारहरुले दुःख गरेर हाम्रो समचार लेख्नुभएको छ। कर्मचारीले काम गरेका छन्। जनप्रतिधिले दिनरात खटेर काम गर्नुभएको छ। त्यसैले प्रोहोत्सानस्वरूप पुस्कार वितरण गरेका हौं।’ 

महानगरको प्राथमिकता यही नै हो त?  महामारीले खाली मानिसको स्वास्थ्यमा मात्रै असर गरेको छैन। यसको असर अर्थतन्त्रको चक्रमा परेको छ। जसका कारण बेरोजगारी बढेको छ।

एउटा तप्का छाक टार्न नसक्ने स्थितिमा छ। यी समस्या हल गर्न प्रमुख भूमिका महानगरले निर्वाह गर्नुपर्ने हो। तर, यो दायित्वबाट महानगर विमुख छ।  

पाँच महिना घरभित्र थुनिएका जनता भर्खरै बाहिर निस्किएका छन्। अवस्था सहज छैन। काठमाडौंमै कोरोना भाइरस संक्रमण दर उच्च छ। जोकोही पनि कोरोनाको उच्च जोखिममा छन्। यसको नियन्त्रणमा महानगरको भूमिका प्रभावकारी देखिँदैन।

हुन त विद्यासुन्दर शाक्य तीनै हुन्, जो आफू संक्रमण हुँदा सोल्टी होटलको आइसोलेसनमा बसे। र भोका जनतालाई खुलामञ्चमा खाना खुवाउन दिन्नँ भने।

नागरिक स्तरमा चर्को आलोचनापछि मात्रै उनले भनेका थिए, ‘ब्यांक्वेटमा खान खुवाउनुस्, भाडा महानगरले तिर्छ। यसबाटै महानगरको नेतृत्व महानगरवासीप्रति कति चिन्तित छ भन्ने प्रस्ट हुन्छ।’ 

यति हुँदाहुँदै पनि महानगरका अधिकारी भने आफ्नो भूमिकाबाट रत्तिभर विमुख नभएको दाबी गर्छन्।

‘कोरोना–कोरोना मात्रै भनेर सबै काम रोक्न त मिल्दैन नि! यसलाई नकारात्मक लिन भएन,’ प्रवक्ता डंगोल भन्छन्, ‘हामीलाई हाम्रो दायित्व र जिम्मेवारी थाहा छ।

कोही महामारीकै कारण निम्तिएको समस्याका कारण खान पाइनँ भन्छ भने ल्याउनुहोला, हामी खुवाउँछौं। बेरोजगारीलाई रोजगार दिन्छौं र उपचारका लागि अस्पतालमा लगानी पनि गरिरहेका छौं।’

प्रकाशित: Dec 14, 2020| 11:32 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।