काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता कम्युनिस्ट सरकारबाट वाक्क भइसकेको भन्दै अहिलेको सरकारबाट मुक्ति चाहिरहेको बताएका छन्।
पार्टीले देशव्यापी रुपमा सोमबार गरिरहेको प्रदर्शनका क्रममा हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले केपी ओली सरकारलाई मुक्त गराउन सक्यो भने मात्रै मुलुकको भविष्य अघि बढ्ने बताए।
‘देशमा एकतर्फी शासन चलाइएको छ। जनतालाई बोल्न, लेख्न र विरोध गर्नसम्म दिइएको छैन,’ उनले भने, ‘यस्तो सर्वसत्ताबादी सरकार ल्याउन यो लडाइँ लडेको होइन।’
उनले कोरोना महामारीबाट जनतालाई बचाउन र लोकतन्त्रको रक्षाका लागि आफूहरु सडकमा आएको प्रस्ट पारे।
‘अहिले मानिसहरु सडकमा राजा आऊ देश बचाऊ भनेर हिँड्दै छन्,’ उनले भने, ‘यो किन भन्दै छन् भने कम्युनिस्ट सरकारबाट आजित भएर भनिरहेका छन्।’
उनले अहिले सडकमा राजाका पक्षमा नारा लगाउने स्थिति ओलीकै कारणले भएको बताए।
सभापति देउवाले बाध्य भएर गणतन्त्र ल्याउनका लागि त्याग गरिएको भन्दै कसैले सडकमा नारा लगाउँदैमा अब राजा आउने सम्भावना नरहेको बताए।
उनले अहिलेको व्यवस्था सफल पार्नुपर्ने भन्दै संविधानमा केही कमीकमजोरी भए सुधार्न सकिने बताए। सभापति देउवाले भने, ‘राजतन्त्र ब्युँतिने दिवासपना नदेखे हुन्छ।’
उनले अहिले कोरोना महामारीका समयमा सरकार गैरजिम्मेवार भएकाले सर्वसाधारण आफैँ यसबाट बच्नका लागि सचेत हुनुपर्ने बताए। ‘कोरोना महामारीबाट बच्नका लागि दूरी कायम गर्नुस्, मास्क अनिवार्य लगाउनुस्,’ सभापति देउवाले भने।