मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा कांग्रेसले एक लाख कार्यकर्ता सडकमा उतार्ने

कर्णालीमा कांग्रेसले एक लाख कार्यकर्ता सडकमा उतार्ने

हिमाली जिल्लाहरुमा भने चिसो बढेका कारण सहभागी कम हुने कांग्रेसले जनाएको छ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

सुर्खेत– सरकारविरुद्ध देशभर विरोध प्रदर्शन गर्न लागेको कर्णालीमा एक लाख नागरिक सडकमा उतार्ने तयारी गरेको छ। मुगु, हुम्ला, जुम्ला र डोल्पामा दुई हजारदेखि पाँच हजारसम्म नागरिक विरोधमा सहभागी हुने आकलन कांग्रेसको छ। 

हिमाली जिल्लाहरुमा चिसो बढेका कारण सहभागी कम हुने कांग्रेसले जनाएको छ। ती जिल्लाहरुमा सदरमुकाम नजिकका पालिकाहरुका कार्यकर्तालाई ठूलो संख्यामा सहभागी गराउन कार्यकर्तालाई आग्रह गरेको छ। सदरमुकामदेखि टाढाका पालिकाहरुबाट भने सक्रिय कार्यकर्तामात्रै सहभागी हुन सक्ने कांग्रेसले जनाएको छ।

कालिकोट, दैलेख, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम र सल्यानमा भने बढीभन्दा बढी कार्यकर्तालाई प्रदर्शनमा सहभागी गराउने कांग्रेसले जनाएको छ। यी जिल्लामा पाँच हजारदेखि २० हजारसम्म कार्यकर्ता विरोधमा सहभागी गराउने कांग्रेसको तयारी छ। यसरी हेर्दा कांग्रेसले कर्णालीमा एक लाखको हाराहारीमा नागरिक सडकमा उतार्ने तयारी गरेको छ।

एक लाख नागरिक सडकमा उतार्ने तयारी गरेको कांग्रेसले कर्णालीमा केन्द्रीय नेताहरु भने खटाएको छैन। देशका मुख्य सहर तथा जिल्लाहरुमा पार्टी पदाधिकारी तथा प्रखर वक्ताहरु खटाएको छ। तर कर्णालीमा भने कोरोनाका कारण नेताहरु आउन नसकेको कांग्रेसले जनाएको छ। केन्द्रीयस्तरका नेताहरु नआउने भएपछि जिल्ला सभापति तथा केन्द्रीय सदस्यहरुले विरोध सभालाई सम्बोधन गर्नेछन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा केन्द्रबाट कसैलाई नखटाइएको सुर्खेतका कांग्रेस सभापति कमलराज रेग्मीले जानकारी दिए। हुम्ला र जाजरकोटको कार्यक्रमलाई केन्द्रीय सदस्यहरुले सम्बोधन गर्नेछन्। जाजरकोटमा हुने बिरोध कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले सम्बोधन गर्ने जाजरकोटका सभापति दिपकजंग शाहले जानकारी दिए।

त्यस्तै हुम्लामा केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशसभाका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सम्बोधन गर्ने कांग्रेस हुम्लाका सभापति जयपति रोकायाले जानकारी दिए। सरदमुकाम सिमकोटस्थित लोकतन्त्र चोकमा कार्यक्रम तय गरिएको छ। सहभागी बढी भएको सन्दर्भमा भने मानसरोबर बहुमुखी क्याम्पसको प्राङ्गणमा कार्यक्रम गर्ने सभापति रोकायाले जानकारी दिए।

कांग्रेसको विरोध प्रदर्शन जिल्ला सदरमुकाममा हुनेछ। जसमध्ये सुर्खेतका पीपल चौतारा, दैलेखको टुँडीखेल, जुम्लाको कृष्ण मन्दिर चोक, मुगुको कष्णचोक, जाजरकोटको ठाँटीबजारको चौतारा, मुगुको वीरेन्द्र चोक, सल्यानको बसपार्क चोक र रुकुम पश्चिमको मालमन्दिर चोकमा बिरोध सभा हुनेछ। विरोधसभामा सहभागी हुन कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संघसंगठनलगायत सबैलाई आह्वान गरेको छ।

प्रकाशित: Dec 14, 2020| 02:38 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।