धनगढी- सुदूरपश्चिम प्रदेशका थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार ३७८ पुगेको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २०८ नमूना परीक्षण गर्दा कैलालीका २७ सहित प्रदेशका ४१ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका २१ जना, गौरीगंगा नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना र टीकापुर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४ जना, शुक्लाफाँटा नगरपालिकाका र कृष्णपुर नगरपालिकाका २/२ जना तथा बेलौली नगरपालिकाका १ जनामा समेत संक्रमण पुष्टि भएको छ। त्यस्तै डोटीका ५ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
उता, अछामको कमलबजार प्रयोगशालामा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका ५/५ जना, तुर्माखाँद गाउँपालिकाका र रामारोशन गाउँपालिकाका २/२ जना, मंगलसेन नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।
उता, बझाङ जिल्ला अस्पतलाको प्रयोगशालामा भएको परीक्षणमा ७ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको छ।
संक्रमण पुष्टि भएका १० हजार ७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। प्रदेशमा हालसम्म ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।