मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रौतहट बम काण्ड : पूर्वमन्त्री आलमका भाइ पुर्पक्षका लागि थुनामा

रौतहट बम काण्ड : पूर्वमन्त्री आलमका भाइ पुर्पक्षका लागि थुनामा

१३ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेको हत्या प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन्।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– १३ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेको हत्या प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन्।

रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि महताबलाई जिल्ला कारागार पठाइएको रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

प्रदेश– २ प्रहरी कार्यालयले भारतमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर नेपाल ल्याएको थियो। उनले प्रारम्भिक अनुसन्धानमा दाइ मोहम्मद अफताब आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाइते भएकालाई इँटा भट्टामा जलाइएको स्वीकार गरेका थिए।

पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइ राजपुर नगरपालिकाका मोहम्मद महताब आलम आफ्ना दाजु गएको चैत २६ गते पक्राउ परेदेखि नै फरार थिए।  

उनलाई प्रहरीले २३ मंसिरको राति भारतको मोतीहारीबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो। 

पहिलो संविधानसभा निर्वाचनअघि २०६४ चैत २७ राति राजपुर नगरपालिका–४ स्थित आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो।

पूर्वमन्त्री आलम र उनका भाइ महताबलगायत ११ जनामाथि उक्त विस्फोटमा घाइते भएका यमुना गाउँपालिका–४ का त्रिलोकप्रसाद सिंह (पिन्टु)  र ओसी अख्तरलाई इटा भट्टामा जिउँदै जलाइएको आरोप छ। मुख्य आरोपित आलम पुर्पक्षका लागि काठमाडौंको नक्खु कारागारमा छन्। 

मृतक पिन्टुका बुवा श्रीनारायण सिंह र अख्तरकी आमा रुक्साना खातुनले कांग्रेस नेता आलमलगायत ४ जनाविरुद्ध २०६५ वैशाख ९ गते किटानी जाहेरी दिएका थिए। 

घटनाको दुई महिनापछि २०६५ असार १ र ९ गते आलम र महताबसहित ४ जना पक्राउ परेका थिए तर चारै जनाको म्याद थप गरेर एकै दिनमा अनुसन्धान सकी सरकारी वकिलको कार्यालय गौरमा मिसिल पेस गरी साँझपख प्रमाण नपुगेको भन्दै छाडिएको थियो।

आरोपितहरू छुटेपछि २०७१ मंसिर २० गते पीडितका तर्फबाट छानबिन गरी पाउँ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिइएको थियो। न्याय नपाएको भन्दै पीडितले सर्वोच्च अदालतमा रिट हालेपछि पुनः छानबिन गर्न आदेश भएको थियो। 

त्यसपछि पक्राउ परेका आलमलगायतका ११ जनाविरुद्ध अनुसन्धान गरी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थलगायत कसुरमा जन्मकैद सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको छ।

प्रकाशित: Dec 13, 2020| 11:18 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।