चितवनमा रही पत्रकारितामा दुई दशकभन्दा बढी समयदेखि सक्रिय सूर्यप्रकाश कँडेलको पहिलो साहित्यिक कृति ‘मोसो’ भर्खरै बजारमा आएको छ। पत्रकारिताभित्रका विकृतिलाई कथानक बनाइएको ‘मोसो’ उपन्यासको सेरोफेरोमा रहेर कँडेलसँग नेपाल समयले गरेको संक्षिप्त कुराकानी :
उपन्यास लेखन नै किन रोज्नुभयो र केले प्रेरित गर्याे?
उपन्यास विधा लेख्न अलि सजिलो पनि छ र जटिल पनि। सजिलो यस अर्थमा कि आफूले चाहेको सन्देश विभिन्न पात्रमार्फत एउटा छुट्टै संसार निर्माण गरेर प्रवाह गर्न सकिन्छ। तर विभिन्न पात्र, परिवेश र उपकथालाई मूलकथासँग जोड्न हम्मेहम्मे हुँदो रहेछ। समाजलाई दिन चाहेको सन्देश उपन्यासबाट मात्रै प्रभावकारी रुपमा प्रवाह हुने देखेर मैले यो विधा रोजेको हुँ।
पत्रकारका रुपमा विभिन्न तह र तप्काका जनतामाझ पुग्दा विविध विषयवस्तुसँग ठोक्किनुपर्ने हुन्छ। सबैका कथा, व्यथा लेख्दै गर्दा आफ्नै पेसाभित्रका समस्या र विकृतिबारे कतै लेखिएको पाइनँ। यसले पनि मलाई ‘मोसो’ लेख्न हुटहुटी जगायो।
‘मोसो’ को विषयवस्तु के हो?
‘मोसो’ भित्र पत्रकारिता क्षेत्रको खराब पक्षलाई उजागर गरिएको छ। यसको मुख्य सन्देश श्रमजीवी पत्रकार इमानदार भई काम गरेर परिवार पाल्न सक्ने हैसियतमा पुग्नुपर्छ भन्ने हो। साथै, पत्रकारिताभित्र देखा परेका विकृति हटाउने पहल आवश्यक छ भन्ने पनि हो।
‘मोसो’ उपन्यासको नायक पत्रकार हो। तर ऊ कुबाटोमा हिँडेको छ। उसले पत्रकारिता आचारसंहिता उल्लंघन गरेको छ। यसबाहेक महिला हिंसा, ज्येष्ठ नागरिकको व्यथा, युद्धको पीडा पनि उपकथाका रुपमा आएका छन्। यिनै कथा र उपकथा अनुरुपका चरित्र उपन्यासभित्र छन् ।
साहित्य त्यसमा पनि आख्यान लेखनअघि समाज अध्ययन कत्तिको आवश्यक रहेछ?
आख्यान लेख्नुअघि समाज अध्ययन अनिवार्य आवश्यकताको विषय हो। आख्यानमात्र नभई समाजको अध्ययनबिना साहित्यका अरु विधा पनि फितलो हुन्छन्। समाजका पात्र र घटनालाई साहित्यिक साँचोमा ढालेर नै आख्यान निर्माण गरिन्छ।
एउटा पत्रकारलाई समाज अध्ययनको राम्रो अवसर प्राप्त हुन्छ। त्यसमाथि मैले दुई दशकभन्दा बढी समय बिताएको पत्रकारिता क्षेत्र र त्यसभित्रका विकृतिलाई नै मुख्य विषय बनाएर लेखेको हुँदा समाज अध्ययनको पाटो बलियो बनेको छ।
पत्रकारितामा सक्रिय रहेकै अवस्थामा उपन्यास लेख्न पक्कै सजिलो भएन होला। कति समय लगाउनुभयो ‘मोसो’ तयार गर्न?
पूर्णकालीन लेखकबाहेक अन्य पेसामा लागेकाहरुलाई साहित्यिक कृति सिर्जना गर्दा समय व्यवस्थापन कठिन काम हो। त्यसमाथि उपन्यास नै तयार गर्न समय त लाग्छ नै। मैले ‘मोसो’ लेख्न सुरु गरेर सिध्याउन तीन वर्ष लाग्यो। व्यस्त दैनिकीले गर्दा पनि यति धेरै समय लागेको हो।
अचेल उपन्यास धेरै लेखिने विधा भएको छ। तपाईंको उपन्यास अरूभन्दा केमा पृथक छ?
पुस्तक बजारमा निश्चय नै उपन्यासको भीड छ। त्यस भीडमा ‘मोसो’ ले मौलिक पहिचान कायम गर्नेछ भन्नेमा म विश्वस्त छु। किनकि ‘मोसो’ ले जुन कथावस्तु बोकेको छ, त्यस्तो कथानकमा लेखिएको उपन्यास नेपाली साहित्यमा ज्यादै थोरै छन्। पछिल्लो समयमा त यस्तो कथावस्तुमा उपन्यास आएकै छैनन् ।
यसअघि ध्रुवचन्द्र गौतमको ‘उपसंहार अर्थात् चौथो अन्त्य’ र नारायण वाग्लेको ‘मयूर टाइम्स’ उपन्यासभित्र पत्रकारिताको विषयवस्तु आएका छन्। तर ती दुई उपन्यासभन्दा मोसो अलि फरक छ।
‘मोसो’ मा पत्रकारिताभित्रको विसंगतिसँगै प्रेमको स्वाद पनि पाउन सकिन्छ। महिला हिंसा र वृद्धवृद्धाका व्यथासँगै विगतको सशस्त्र द्वन्द्वका घाउ र पीडा उपकथाका रुपमा आएका छन्। यी सबै कुरालाई उनेर एउटा उपन्यास तयार पार्दा निश्चय नै ठूलो मिहिनेत लागेको छ।
उपन्यास लेखन र अखबारी लेखनमा कस्तो भिन्नता पाउनुभयो?
समाचार लेखनको क्यानभास सानो हुन्छ भने साहित्य लेखनको फराकिलो। फराकिलो क्यानभासमा कथावस्तुका रंगहरुलाई संयोजन गरी एउटा विशाल चित्र (कृति) तयार गर्नु निश्चय नै कठिन र फरक काम हो। तर सानो क्यानभासमा चित्र कोरिरहेको व्यक्तिलाई ठूलो क्यानभासमा चित्र कोर्न असजिलो होला, असम्भव हुँदैन। चित्र कोरिरहेको अभ्यास काम लाग्छ। मलाई पनि त्यस्तै भयो।
हजार शब्दको फिचर लेखिरहेको मान्छेलाई करिब ५० हजार शब्दको उपन्यास लेख्दा समय, सीप र कल्पनाशीलताको हिसाबले भिन्न हुँदोरहेछ। समाचार वा फिचर हतारमा लेखिन्छ, उपन्यासका लागि फुर्सद चाहिन्छ। ‘डेडलाइन’ को दबाव उपन्यास लेखनमा हुँदैन। उपन्यास लेख्दा कल्पनामा यथार्थ र यथार्थमा कल्पना मिसाउन पाइन्छ, जुन समाचार लेखनमा सम्भव छैन। मलाई फिचर लेखनको सीपले नै उपन्यास लेखनमा सहयोगी भूमिका खेल्यो।
नेपाली पाठकले ‘मोसो’ पढेनन् भने के कुरा छुटाउँछन् जस्तो लाग्छ?
यसभित्र निजी अनुभवका गन्थन भन्दा पनि पत्रकारिता क्षेत्रका विसंगति उजागर गरिएको छ। सकारात्मक प्रभावको चर्चा भन्दा पनि समाजले पत्रकारप्रति व्यक्त गर्ने नकारात्मक धारणाको चिरफार गरिएको छ।
‘मोसो’ रहरको उत्पादन होइन। पत्रकारिताभित्रका विकृति, जुन बाहिरबाट हेर्दा देखिँदैन, तिनलाई समाजसामु राख्नुपर्छ भन्ने लागेर ‘मोसो’ लेखेको हुँ। त्यसैले मैले भनेको छु, ‘मोसो’ खराब पत्रकारको असल बकपत्र हो। समाजका विकृतिबारे पत्रकारले लेख्छ। पत्रकार र पत्रकारिताभित्रका विकृति कसले लेख्ने? त्यही अभिभारा मैले बोकेको हुँ। जसले ‘मोसो’ पढ्दैनन्, ती पाठक यी कुरा जान्न र बुझ्नबाट वञ्चित हुनेछन्।