बुधबार, भदौ ३१, २०८३

सहकारी बैंकले १५ प्रतिशत लाभांश दिने

राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्य सहकारीहरुलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

काठमाडौं- राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्य सहकारीहरुलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। 

बैंकले गत वर्ष ६७ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ प्रतिशत बढी हो।
बैंकले कोरोनाका कारण उत्पन्न परिस्थितिका बाबजुद पनि राखेको सम्पूर्ण लक्ष्यहरु प्राप्त गर्न सकेको दाबी गरेको छ।

कोभिड-१९ को महामारीले सदस्य संस्थाहरुमा परेको प्रभाव न्यूनिकरणका लागि बैंकले सहकारी संस्थाहरुले ऋणको किस्ता बुझाउँदा ब्याजमा १० प्रतिशत अर्थात् ४ करोड २२ लाख २८ हजार २८२ रुपैयाँ र बैशाखदेखि असार महिनासम्मको कर्जामा २ प्रतिशत  सहुलियत प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए। 

बैंकको शाखा सञ्जाल ७७ जिल्लामा नै पुगेका छन् भने १२ हजार ३८१ सहकारीहरु बैंकमा आबद्ध छन्। गत आर्थिक वर्षमा यस बैंकले ४६ अर्ब ८८ करोड निक्षेप, २७ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। चुक्तापूँजी (सेयर रकम) २ अर्ब २२ करोड रहेको बैंकले जनाएको छ।

बैंकले चालु आर्थिक वर्षमा संस्थाहरुको आर्थिक विकासका लागि प्रदेशस्तरमा नमूना परियोजना सञ्चालन, सहकारी संस्थागत विकास कार्यक्रम संचालन, सहकारी शिक्षाको बिस्तारका लागि रिसर्च फेलोसीप प्रदान लगायतका कार्यक्रमहरुमा जोड दिएको छ। 

राष्ट्रिय सहकारी बैंक सहकारी क्षेत्रमा रहेको पूँजी, सीप र साधनलाई एकीकृत रुपमा परिचालन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्देश्य राखी स्थापना भएको हो।

बैंकले आफ्ना सदस्यहरुलाई डिजिटल सेवा दिनका लागि राष्ट्र बैंकसँग अनुमतिका लागि प्रक्रियामा रहेको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए। 

प्रकाशित: Dec 07, 2020| 10:03 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्