सिन्धुली– कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरिसकिन्। तर उनीसँग अहिलेसम्म पनि नागरिकता छैन। नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उनी वञ्चित छन्।
“यो आश्रय लिएको नातिको पनि आर्थिक अवस्था कमजोर छ, मलाई राज्यले हेरेन”, उनले भनिन्, “वृद्धभत्ता मात्र लिन पाए पनि बनिबुतो गरेर मलाई पाल्ने नातिलाई सहज हुने थियो।”
पतिपनि निधन भएपछि पछिल्लो पाँच वर्षदेखि एक्लो बनेकी छत्रमायालाई नातामा नाति पर्ने पदमबहादुर रानामगरले बनिबुतो गरेर संरक्षण गर्दै आएकी छन्।
“आर्थिक अवस्था कमजोर भए पनि ज्याला मजदूरी गरेर उनीहरूले सकेको सहयोग गर्दै आएका छन्। सरकारले बूढेसकाल लागेपछि हेर्छ पालनपोषण गर्छ भन्ने सुनेको थिएँ तर मलाई वास्ता गरेनन्”, उनले भभिन्, “नागरिकता बनाइदिए हुने थियो। मर्ने बेला भयो, नागरिकता कस्तो हुन्छ थाहा छैन।”
माइती पक्षका कोही पनि नहुँदा नागरिकता लिनबाट वञ्चित छत्रमाया यतिबेला राज्यले प्रदान गर्ने सेवा सुविधाबाट पनि वञ्चित हुँदै आएको स्थानीय एकराज पहाडीले बताए । “सकेको पालनपोषण गरेको देखिन्छ। नागरिकता भए पाल्ने र पालिने दुवैलाई केही राहत मिल्ने थियो”, उनले भने।
कमलामाई नगर प्रमुख खड्गबहादुर खत्रीले आफूले दसंमा १०० वर्ष पार गरेको ज्येष्ठ नागरिकलाई सम्मान गर्ने क्रममा उनले नागरिकता नपाएको थाहा पाएको बताए। उनलाई नागरिकता दिलाउन कमलामाईले प्रमुख जिल्ला अधिकारीसँग पहल गर्ने बताए।
प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले नागरिकतामा भर्नुपर्ने विवरणका आवश्यक प्रमाण पुगेमा उहाँले नागरिकता प्राप्त गर्नसक्ने बताए। रासस