महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालले खरिद गरेको दुई महिनासम्म पनि पीसीआर मेसिन सञ्चालन गरेको छैन।
दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको थियो।
जनशक्ति र अन्य उपकरण खरिदको प्रक्रियागत ढिलाइले सञ्चालन गर्न नसकिएको महाकाली अस्पतालका सूचना अधिकृत नारद भट्टले जानकारी दिए।
प्रयोगशाला सञ्चालनका लागि १२ जना कर्मचारी नियुक्त गरिएको भट्टको भनाइ छ।
उनले बिएमएलटी चार जना, माइक्रो बायलोजिष्ट एक जना, ल्याब टेक्निसियन दुई जना र चारजना स्वीपर भर्ना गरेर मेसिन सञ्चालनका लागि धनगढी र काठमाडौंमा तालीमका लागि गएको बताए।
प्राविधिक टोली तालिमबाट फर्किनासाथ मेसिन सञ्चालनमा आउने भट्टको भनाइ छ।
भीमदत्त नगरपालिकाले अस्पतालसहित सरोकारवाला निकायसँग समन्वय गरी ३८ लाख रुपैयाँमा पीसीआर मेसिन खरिद गरेको जनाएको छ।
रासस