संसारका दुई अर्ब २० करोड स्कुले बालबालिकाको घरमा इन्टरनेटको पहुँच नरहेको तथ्य संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनले औंल्याएको छ।
कोरोना भाइरस महामारीका कारण विद्यालय बन्द छन्। त्यसैले शिक्षण सिकाइको महत्त्वपूर्ण माध्यम इन्टरनेट बनेको छ। तर बालबालिका सबैमा इन्टरनेटको पहुँच नपुग्दा कम विकसित मुलुकका धेरै बालबालिका शिक्षण सिकाइबाटै विमुख छन्।
युनिसेफ र इन्टरनेसन टेलिकम्युनिकेसन युनियन (आईटीयू) द्वारा सार्वजनिक संयुक्त प्रतिवेदनमा तीनदेखि १७ वर्षसम्मका करिब एक अर्ब ३० करोड बालबालिकाको घरमा इन्टरनेट सुविधा छैन। यस्तै घरमा रहने १५ देखि २४ वर्षसम्मका ६३ प्रतिशत युवामा इन्टरनेटमा पहुँच नरहेको प्रतिवेदनमा उल्लेख छ।
युनिसेफका प्रमुख हेनरिटा फोरका अनुसार यति धेरै बालबालिकामा इन्टरनेटको पहुँच नहुनु भनेको डिजिटल खाडल बढ्नु हो। इन्टरनेट कनेन्टिभिटीमा कमी हुँदा आधुनिक युगमा युवालाई प्रतिस्पर्धामा उत्रन रोक्छ र उनीहरूलाई विश्वबाट अलग बनाउन सक्छ।
रिपोर्टको निष्कर्ष चिन्ताजनक रहेको युनिसेफले जनाएको छ। यति बेला कोरोना महामारीका कारण विद्यालय बन्द छन्। लाखौं विद्यार्थी भर्चुअल लर्निङमा आश्रित रहन बाध्य छन्। रिपोर्टमा भनिएको छ, ‘इन्टरनेटमा पहुँच नहुँदा आगामी पुस्ताको भविष्य अन्धकारमा धकेलिन सक्छ।’
रिपोर्टका अनुसार कम आय भएका देशका २० भन्दा कम उमेर भएका अधिकांश बालबालिकामध्ये एक जनामा इन्टरनेटको पहुँच छ भने धनी देशका १० मध्ये नौ जनामा इन्टरनेटको पहुँच छ।
दक्षिण एसिया क्षेत्रका थोरै मात्र बालबालिकाले मात्र अनलाइनमार्फत शिक्षा प्राप्त गरिरहेका छन्। प्रतिवेदनमा यस क्षेत्रका १० मध्ये नौ जनाको घरमा इन्टरनेटको पहुँच छैन।
सहर र ग्रामीण इलाकामा इन्टरनेट उपयोगबीच स्पष्ट अन्तर छ। ग्रामीण क्षेत्रका ७५ प्रतिशत बालबालिकाको घरमा इन्टरनेट कनेक्सन छैन भने सहरी क्षेत्रमा पनि ६० प्रतिशत बालबालिकामा इन्टरनेटको पहुँचबाहिर छन्। साथै छोराको तुलनामा छोरीमा इन्टरनेटको पहुँच कम रहेको प्रतिवेदनमा उल्लेख छ।