विराटनगर– विराटनगरस्थित सहिद रंगशालामा फ्लड लाइट जडान सुरु भएको छ।
फ्लड लाइटको मास्ट राख्ने कार्य शुभारम्भ गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले सहिद रंगशालालाई समयानुकूल अत्याधुनिक बनाइने बताए।
उनले विराटनगरलाई खेलकुदमय बनाउन काम सुरु भएको उनले बताए। मन्त्री घिमिरेले कोभिडबाट थलिएको खेलकुदलाई परिस्थिति हेरेर चाँडै खेलकुद गतिविधि सुरु गर्न सकिने बताए।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सहिद रंगशालाको प्यारापिटको स्तरोन्नतिमा विशेष ध्यान दिइने बताए।
महानगरमा खेलकुद गतिविधि तीव्र बनाउने गुरुयोजना भए पनि बजेट अभावका कारण पूर्णता दिन नसकिएको उनको भनाइ छ।
भारतको मुम्बईस्थित ट्रान्सरेल कम्पनीबाट झिकाइएको लाइट जडानका लागि हाल भारतको मुम्बईबाट एक, कोलकाताबाट दुई, सिलगढीबाट चार, आसामबाट तीन जना प्राविधिक आएका छन्।
गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता भएको थियो।
लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन अमर जेभीले बताएको छ।
फ्लड लाइट जडानका लागि सामाजिक विकास मन्त्रालयले ४ करोड २९ लाख रुपैयामा सम्झौता दिएको हो।