मंगलबार, चैत ३, २०८२

पूरा होला मेस्सीसँग सँगै खेल्ने नेयमारको चाहना ?

मेस्सीसँग खेल्ने नेयमारको इच्छा र छटपटी अहिले शिखरमा पुगेको देख्न सकिन्छ। तर मेस्सी र नेयमार सँगै खेले नै भने पनि कुन क्लबमा ? किनकी नेयमार बार्सिलोना फर्किए पनि मेस्सी बार्सिलोनामा बस्छन्–बस्दैनन् टुंगो लागिसकेको छैन। 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौ– चार वर्ष अघिसम्म त हो विश्व फुटबलमा ‘एमएसएन’ले तहल्का मच्चाएको। ‘एमएसएन’ अर्थात् मेस्सी, स्वारेज र नेयमार। 

National life

स्पेनिस क्लब बार्सिलोनामा रहँदा यी तीन खेलाडीको तालमेललाई विश्व फुटबलकै ‘खतरनाक’ मानिन्थ्यो। किनकी यी तीन खेलाडीलाई रोक्न विपक्षी टोलीका लागि टाउको दुखाइ नै बन्थ्यो।   

र त यी तीनले बार्सिलोनामा जित्न बाँकी केही थिएन। खाली कतिपटक जिते भन्नेमात्र हो। च्याम्पियन्स लिग, घरेलु लिग, क्लबदेखि, विश्वकपसम्म सबै उपाधि उनीहरुले जिते। हाल स्पेनका प्रशिक्षक रहेका लुइस इनरिकेको प्रशिक्षणमा बार्सिलोना सफलताको शिखरमा थियो। सफलताका कारक थिए– एमएसएन, इनिएस्टा, जाभी, पिके, डानी आल्भेसलगायत खेलाडी। उनीहरुको खेल हर्न लालायित नहुने सायदै कोही थियो।  

‘एमएसएन’को तालमेल मैदानमा यसरी देखिन्थ्यो, कि उनीहरु एकअर्काका परिपूरक हुन्। मैदानमा मात्रै होइन, मैदान बाहिर पनि उनीहरुको सम्बन्ध उत्तिकै सुमधुर थियो। तर, समय सधैं कहाँ उस्तै रहन्छ र ! सन् २०१७ मा नेयमार विश्व कीर्तिमानी मूल्य २२२ मिलियन यूरोमा फ्रेन्च क्लब पिएसजी पुगे। नेयमार बार्सिलोना छोडेर पिएसजी जाँदा कसैले भने– मेस्सीको छायाबाट बाहिर निस्कन चाहन्थे नेयमार। कसैले भने– पैसाको पछि दौडिए नेयमार। कारण जे होस्, उनले बार्सिलोना छोडे। 

नेयमार पिएसजी गएपछि ‘एमएसएन’ को ट्रियो रहेन। पिएसजीमा नेयमारले अपेक्षित सफलता प्राप्त गर्न सकेनन्। बार्सिलोनाको अवस्था पनि उस्तै। नेयमार सम्मिलित पिएसजी एकपटक च्याम्पियन्स लिगको फाइनलमा त पुग्यो, तर उपाधि जित्न सकेन। बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा क्वार्टरफाइनल भन्दा अघि बढ्न सकेको छैन।

Laxmi sunrise bank
kumari

नेयमार पिएसजी गएको एक वर्षदेखि नै उनी बार्सिलोना फर्कन चाहेको समाचार बाहिर नआएका पनि होइनन्। प्रत्येक ट्रान्सफर विन्डोमा नेयमार बार्सिलोना फर्कने खबरले बजार तताउने गर्छ। तर, विन्डो बन्द हुँदा न नेयमार बार्सिलोना फर्कन्छन्, न त बार्सिलोनाको प्रयास सार्थक हुन्छ।  

चालू सिजनको सुरुवातदेखि त ‘एमएसएन’ तीन फरक क्लबमा छन्। लुइस स्वारेज एट्लेटिको मड्रिड गएपछि बार्सिलोनामा मेस्सी एक्लै छन्।

बार्सिलोनाले अपमानजनक व्यवहार देखाएर एट्लेटिको मड्रिड पठाएपछि स्वारेजका आँखामा छल्किएका आँशु प्रस्टै देखिन्थ्यो। किनकी न उनले बार्सिलोना छाड्न चाहेका थिए, न त मेस्सी नै स्वारेजले बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेको हेर्न चाहन्थे। स्वारेज एट्लेटिको गएपछि मेस्सीले समेत बार्सिलोना छोड्न नचाहेका कहाँ हुन् र ?

चालू सिजनको सुरुवातमा मेस्सीले बार्सिलोना छोड्न चाहेका थिए। तर, ७ सय मिलियनको महँगो रिलिज क्लज देखाएर बार्सिलोनाले उनलाई रोक्यो। मेस्सी यो सिजन त बार्सिलोनामा बसे। तर, अर्को सिजनमा उनले बार्सिलोना छोड्ने चर्चा अझै सेलाएको छैन।  

बार्सिलोनामा मेस्सी खुसी छैनन्। उनी न मैदानमा खुसी देखिएका छन्, न त मैदान बाहिर नै। बार्सिलोनामा उनको भविष्यका बारेमा समेत प्रश्न उठेको छ। र, यहीबीचमा नेयमारले मेस्सीसँग पुनः खेल्ने इच्छा व्यक्त गरेका छन्। के अर्को सिजन मेस्सी र नेयमारलाई एउटै टिममा खेलेको देख्न पाइएला ? यो सम्भव भए कहाँ ? बार्सिलोना वा पिएसजीमा ? यी प्रश्न अनुत्तरित नै छन्।

तर, मेस्सीले यसअघि पनि नेयमारलाई फिर्ता ल्याउन बार्सिलोनाको बोर्ड समक्ष राखेको प्रस्ताव र बुधबार राति च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई हराएको खेलपछि नेयमारले दिएको अभिव्यक्तिलाई हेर्ने हो भने दुवै एकै टिमबाट खेल्न लालायित देखिन्छन्। पुनः सँगै खेलेर एकपटक सफलताको स्वाद चाख्ने चाहना दुवैको हुनुपर्छ। 

र, त नेयमार भन्दैछन्– अर्को सिजन हामी सँगै खेल्नेछौं। उनले बुधबार ओल्ड ट्राफोर्डमा भने, ‘मलाई सबैभन्दा धेरै मेस्सीसँग फेरि पनि खेल्न मन छ।

उनीसँग फेरि पिचमा बस्दा रमाइलो लाग्नेछ। उनी मेरो ठाउँमा खेल्न सक्नेछन्। मलाई थाहा छ, यसमा उनलाई केही समस्या हुनेछैन। म निश्चित छु कि अर्को सिजन यो हुनेछ र हामीले यो गर्नुपर्छ।’

तर, उनले मेस्सीसँग फेरि खेल्ने इच्छा व्यक्त गरेको यो पहिलो पटक भने होइन। मेस्सीसँग खेल्ने उनको इच्छा र छटपटी अहिले शिखरमा पुगेको देख्न सकिन्छ। तर यदि मेस्सी र नेयमार सँगै खेले नै भने कुन क्लबमा ? यो नै अहिलेका लागि यक्ष प्रश्न हो। किनकी नेयमार बार्सिलोना फर्किए नै भने पनि मेस्सी बार्सिलोनामा बस्छन्–बस्दैनन् टुंगो लागिसकेको छैन। 

बार्सिलोना बोर्डले उनलाई बाहिर पठाउन चाहेको छैन। उनको सम्झौता पनि आउँदो समरमा सकिँदै छ। हालसम्म उनको सम्झौता नवीकरण पनि भएको छैन। मिडिया रिपोर्टहरुलाई पत्याउने हो भने अर्को सिजन मेस्सीलाई इंग्लिस क्लब म्यानचेस्टर सिटीको जर्सीमा देखिने सम्भावना धेरै छ।

यदि मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गरेनन् भने अर्को सिजनको सुरुवातमा उनी फ्रि एजेन्टमा सिटी जानेछन्। यस्तो अवस्थामा नेयमारलाई मेस्सीसँग खेल्न गाह्रो पर्नेछ।

तर सिटीका प्रशिक्षक पेप गर्डिवलाले क्लबमा दुई वर्षे सम्झौता थप गर्दै मेस्सीलाई बार्सिलोनामै बस्न सुझाव दिएका छन्। ‘म मेस्सीको फ्यान पनि भएकाले भन्छु– उनी बार्सिलोनाका खेलाडी हुन्। र, उनले बार्सिलोनामै खेल जीवनको अन्त्य गर्नुपर्छ,’ उनले भनेका छन्। गर्डिवलाको यो टिप्पणीले मेस्सीको सिटी यात्रा पनि धमिलो देखिन्छ।

यस्तो अवस्थामा मेस्सीसँग जोडिएको अर्को क्लब हो पिएसजी। केलियन एम्बाप्पे र नेयमारले क्लबको फरवार्ड लाइन बलियो बनाएका छन्। यस्तो अवस्थामा पिएसजीले मेस्सीमाथि लगानी गर्ला ? यो प्रश्न भने कायमै छ। तर, पिएसजीका महत्वाकांक्षी कतारी मालिकले लगानी गर्दैनन् भनेर भनिहाल्नु भने हतारो नै हुनेछ। मेस्सीसँग नेयमारको सुमधर सम्बन्ध र क्लबका मालिकको महत्वाकांक्षाका कारण मेस्सी पिएसजीको जर्सीमा देखिन सक्नेछन्।  

सँगै अर्को एक सम्भावना समेत छ। बार्सिलोना बोर्डको चुनाव आउने जनवरीमा हुँदैछ। नयाँ व्यवस्थापनले मेस्सीलाई सम्झौता थप्न सहमत गराउन सक्छ। र नेयमारलाई पुनः अनुबन्ध गर्ने सम्भावनालाई समेत नकार्न सकिँदैन। नेयमारको मेस्सीसँग पुनः खेल्ने इच्छा पूरा हुन्छ त ? यो थाहा पाउन सन् २०२१–२२ को सिजनको सुरूवातसम्म पर्खनै पर्नेछ। 

प्रकाशित: Dec 03, 2020| 11:32 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।