काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको विरोधमा नेपाल तरुण दल आन्दोलित बनेको छ।
बुधबार पौडेलको गृह जिल्ला तनहुँमा मोटरेबल पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको विरोधमा तरुण दलले बिहीबार देशभर प्रदर्शन गर्ने भएको हो।
प्रहरीले पौडेललाई तीन घण्टा नियन्त्रणमा लिएर छोडेको थियो। सत्ता र शक्तिको दुरुपयोग गर्दै नेता पौडेलमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै तरुण दलले देशभर प्रदर्शन गर्न लागेको उपाध्यक्ष उत्तमकुमार चापागाईंले जानकारी दिए।
‘वरिष्ठ नेतामाथि सरकारले अपमान गरेको छ। राजनीतिक प्रतिसोध साँध्ने काम भएको छ। जुन लोकतान्त्रिक राज्य व्यवस्थामा लाजमर्दो कुरा हो,’ चापागाईंले भने, ’कम्युनिस्ट सरकारको सर्वसत्तावादी चरित्रका विरुद्धमा आज देशभर प्रदर्शन गर्दैछौं।’
उनका अनुसार देशभर आ–आफ्नै ढंगले आन्दोलन गर्न भनिएको छ। चापागाईंले भने ‘देशभर आ–आफ्नै किसिमले आन्दोलन हुने छ। राँके जुलुसदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्मका कार्यक्रम हुनेछन्।’
पौडेल पक्राउको विरोधमा कांग्रेसका भातृ संगठनहरूले बुधबारदेखि नै प्रदर्शन गरिरहेका छन्।