बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रिय वाणिज्य बैंक र चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जाका लागि सहकार्य

राष्ट्रिय वाणिज्य बैंक र चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जाका लागि सहकार्य

 राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्यका लागि सम्झौता भएको छ। 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्यका लागि सम्झौता भएको छ। 

पूर्वमन्त्री तथा संघीय सांसद जनार्दन शर्माको उपस्थितिमा बुधबार काठमाडौंमा सम्झौता भएको हो। 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि अब नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ (संशोधनसमेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नेछ। साथै तालिम प्राप्त कृषकहरूको ५–५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी तथा सहकारीहरूलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्नेछ।

नगरपालिकाले सिफारिस गरेका उद्यमीहरूलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम १० लाख रूपैयाँसम्म सहुलियपूर्ण कर्जा लगानी गर्नेछ।

कार्यक्रममा सांसद जनार्दन शर्माले यो कर्जाले स्रोतसाधनको परिचालनमा महत्त्वपूर्ण योगदान गर्ने बताए। 

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बंगलादेशबाट सुरु भएको सामूहिक जमानीको आधारमा लगानी गरिने लघुबित्त कर्जा मोडल जस्तै सहुलियतपूर्ण कर्जा नेपालको लागि नयाँ आर्थिक मोडल बनाउनुपर्ने धारणा राखे। 

चौरजहारी नगर प्रमुख विशाल शर्माले नगरवासीको गरिबी न्यूनीकरण गरी जीवनस्तर उकास्न यो सहकार्य फलदायी हुने बताए। 

प्रकाशित: Dec 02, 2020| 15:53 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्