काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बिमाको रकम ईसेवाबाट भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएको छ।
योसँगै वैदेशिक रोजगारमा जाँदा ईसेवा खाता भएका व्यक्तिले सिधै ईसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने ईसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका ईसेवा जोन पोइन्टबाट सहजै बिमा रकम भुक्तानी गर्न सक्नेछन् ।
सन नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्ने वैदेशिक रोजगार म्यादी बिमाको ईसेवा मार्फत भुक्तानी गर्न सकिन्छ । यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुवै किसिमको भुक्तानी गर्न सकिन्छ ।
आफैंले वा आफ्नो साथीभाइको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्वीकृति लिने प्रक्रियामा भएका व्यक्तिले ईसेवाबाट व्यक्तिगत रुपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिने कम्पनीले जनाएको छ।
यसैगरी पहिले रोजगारका लागि विदेश गइसकेको र पुनः सोही ठाउँमा जान भिसा नविकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रुपमा अनलाईन फारम भरी ईसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ।
यस्तै म्यानपावर मार्फत वैदेशिक रोजगारमा पठाउने मेनपावर कम्पनीले पनि एकमुस्ट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ । जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएकोे लट नम्बर प्रयोग गरी पनि ईसेवाबाट रकम बुझाउन सकिनेछ ।
ईसेवाबाट सिधै बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशिक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुनेछ। यसअघि कल्याणकारी कोष र बिमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रहिआएको थियो