काठमाडौं- आन्तरिक विवादमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बुधबार पनि बस्दैछ। दिउँसो १ बजेका लागि तय भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली नै उपस्थित नहुने भएका छन्। उनले हिजो मंगलबारको बैठकबाट बाहिरिने क्रममा बैठकमा उपस्थित हुनुको अर्थ नरहेको बताए थिए।
हिजो बसेको बैठकमा दुई अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बाझाबाझ नै भएको बताइएको छ। दुई अध्यक्षबीचको विवादमा सचिवालयका बहुमत सदस्यले दाहालको पक्ष लिएपछि अप्ठेरोमा परेका ओली बैठकमा उपस्थित हुनुको अर्थ छैन भन्दै बैठकबाट बाहिरिएका थिए। उनी आजको बैठकमा नजाने ओली निकट एक नेताले जानकारी दिएका छन्।
अध्यक्ष नै बैठकमा उपस्थित नहुने भएपछि आजको बैठक बस्ने कि रोक्ने भन्ने अन्योल बढेको छ। यद्यपि कार्यकारी अध्यक्ष दाहालसहितका बहुमत सदस्य जो जो उपस्थित हुन्छन्, उनीहरु मात्रै बसेर भएपनि बैठक अघि बढाउनु पर्ने पक्षमा छन् ।
के भयो हिजोको बैठकमा ?
कार्यकारी अध्यक्ष दाहालले बैठक सुरु गर्दै सचिवालयमा पेश भएका दुई अध्यक्षको प्रतिवेदनमा छलफल अगाडि बढ्ने बताएलगत्तै ओलीले दाहालको लाञ्चनापत्रमा छलफल नहुने भन्द हस्तक्षेप गरेका थिए।
तर ओलीको यो शैलीप्रति अरु नेताले आपत्ति जनाउँदै बैठकमा आएका दुबै प्रतिवेदनमा छलफल हुने अडान लिएका थिए। त्यसलगत्तै प्रतिरक्षात्मक बनेका ओली बुधबारको बैठकमा आफू नआउने जनाउ दिएका थिए।
गएको कात्तिक २८ मा अध्यक्ष दाहाल र मंसिर १३ मा ओलीले पेश गरेका प्रतिवेदनमाथि छलफल गर्ने कि नगर्ने भन्नेमै नेताहरुबीच भनाभनको अवस्था आएको थियो।
बैठकको अध्यक्षता गरिरहेका दाहालबाट एजेण्डा सुनेपछि बोलेका ओलीले दाहालको प्रस्तावलाई लाञ्छनापत्र भन्दै फिर्ता भएमात्रै छलफल गर्न आफू तयार हुने बताएका थिए।
ओली लाञ्छना पत्र मान्न नसकिने, बहुमत, अल्पमत र कमिटी पनि नमान्ने भन्दै जगिंएका थिए।
नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले प्रस्ताव कमिटीमा पेश भएर छलफलमा गइसकेको बताएका थिए। रामबहादुर थापा, इश्वर पोखरेलले पनि छलफल गर्नुपर्ने बताएका थिए।