एजेन्सी- कोरोना भाइरसको महामारीले मानवीय सहयोगको आवश्यकता पर्ने व्यक्तिको संख्या उच्च रुपमा वृद्धि गरेको पाइएको छ।
संयुक्त राष्ट्र संघका अनुसार चरम गरिबीको अवस्थामा रहेका मानिसको संख्या एक वर्षमा उच्च रुपमा बढेको छ।
आगामी सन् २०२१ मा प्रत्येक ३३ जनामध्ये १ जनालाई आधारभूत आवश्यकताहरु खाना, पानी तथा सरसफाईका लागि प्रत्यक्ष सहयोगको आवश्यकता पर्नेछ।
यस्ता सहयोगापेक्षीको संख्या यसै वर्ष ४० प्रतिशतले बढेको संयुक्त राष्ट्र संघले आज सार्वजनिक गरेको ‘विश्व मानवीय अवलोकन २०२१’ ले देखाएको छ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुट्रेसले मानिसहरु अहिले नै चक्कुको धारमा बाँचिरहेको र कोरोना भाइरसको महामारीका कारण बढिरहेको संकटले अझै कठिन अवस्था झेल्नुपर्ने बताए।
उनले खाद्य वस्तुको बढ्दो मूल्य, घट्दो आम्दानी, रोजगारीका अवसर सिर्जना नहुने र विद्यालय बन्द हुने जस्ता कारणले अवस्था भयावह बन्दै गएको बताए।
युद्धको मारमा रहेका सिरिया, लिबिया, यमनलगायतका देशमा अझै भयावह अवस्था आउने उक्त दस्ताबेजमा आँकलन गरिएको छ।