काठमाडौं- नेपाल एग्रो लघुवित्त बित्तिय संस्थाको दोस्रो बजार कारोबार एक वर्ष पुरा भइसक्दा पनि अझै खुलेको छैन।
पोखरामा केन्द्रीय कार्यालय रहेको सो लघुवित्तले अहिलेसम्म पनि दोस्रो बजारको कारोबार खुल्ला गरको छैन।
गत असोज १७ गते नेस्डो सम्वृद्ध लघुवित्त संस्थासँग मर्ज हुने सम्झौता गरेको सो लघुवित्तले केही महिनामा नै सम्झौता तोडेको थियो।
अहिले अर्को कुनै लघुवित्त संस्था मर्जको लागि खोजिरहेको सो संस्थाले आफ्ना लगानीकर्ताहरुलाई कारोबार गर्नबाट बञ्चित गराईरहेको छ।
संस्थाका अनुसार आफूहरुले उपयुक्त जोडीसँग मर्जरमा जाने प्रयास गरिरहेकाले दोस्रो बजारमा कारोबारको लागि खुल्ला गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र नलेखेको जनाएको छ।
यता नेप्सेका प्रवक्ता मुरारी पराजुलीका अनुसार एक पटक मर्जरको प्रकृयामा गइसकेको संस्थाले मर्ज भएर कारोबार खोल्नका लागि आग्रह नगरुन्जेल नेप्सेले सो संस्थाको सेयर कारोबार खुल्ला गर्न मिल्दैन।
तर नेप्से र सो संस्थाका कारण ३२.५ प्रतिशत लगानीकर्ताहरुको रकम नेपाल एग्रोमा होल्ड भएर बसेको छ।
'हामी लगानीकर्ताहरुले अहिले आफ्नै सेयर बेच्न पाइरहेका छैनौँ', नेपाल एग्रो लघुवित्तका लगानीकर्ता किसन राई भन्छन्।
पछिल्लो समय सेयर बजारमा उछाल आइरहेको बेलामा नेपाल एग्रोको सेयर बिक्रि गर्न नपाउदा सो संस्थाका लगानीकर्तामा निराशा छाएको छ।
नेपाल एग्रोमा ६७.५ प्रतिशत व्यक्तिगत र ३२.५ प्रतिशत रकम सर्वसाधारणको लगानी रहेको छ। सो कम्पनीको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको संस्थाले जनाएको छ।