काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भएको खर्च विवरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कुनै पत्र नआएको दाबी गरेका छन्।
‘राखेपमा अख्तियारबाट धेरै पत्र आउँछन्। कुनै जानकारी माग्ने हिसाबले आउँछन्। कुनै पत्रकै लागि मात्र आउँछन्। तर ‘त्यस्तो खाल’ को पत्र आएको छैन,’ सागको हिसाब विवरण सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव सिलवालले भने।
सागमा भ्रष्टाचार भएको आरोप लागेको उजुरी परेपछि अख्तियारले राखेपमा ताकेताका लागि पत्र पठाएको समाचार प्रकाशित भएको थिया।
सदस्य सचिव सिलवालले हिसाब मागेर पत्र नआएको दाबी गरेका हुन्। उनले सागको हिसाब विवरण भने अख्तियारमा बुझाइने बताए।
ब्याडमिन्टनमा भ्रष्टाचार भएको विषयमा प्रश्न उठेपछि राखेपले छानबिन समिति बनाएर अध्ययन गरेको थियो। समितिले पेस गरेको प्रतिवेदन अख्तियारले लगेको छ।
‘प्रतिवेदन अख्तियारमा रहेकाले त्यहाँबाट के निर्णय आउँछ कुरेर बसेका छौं,’ सिलवालले भने।
राखेपले ब्रोडकास्टरसँग फेरि समन्वय गर्ने
राखेपले सागको मिडिया राइट भारतीय कम्पनीलाई ब्रोडकास्टरको जिम्मा दिएको थियो। त्यसबापत राखेपलाई चेक उपलब्ध गराए पनि बाउन्स भएको थियो।
‘यसबारे भारतीय कम्पनीमाथि मुद्दा लगाउन सकिने कानुनी व्यवस्था छ। तर हामी अहिल्यै त्यसो नगर्ने पक्षमा छौं’, सिलवालले भने, ‘दुवैतिर समन्वय गरेर हिसाब फर्स्याेट गर्ने योजना छ।’ उनले यो समस्या समाधान दोहोरो विमान यात्रा खुला भएपछि गरिने बताए।
सागमा थोरै खर्च किन ?
सागमा तीन अर्ब ६९ करोड खर्च हुने अनुमान थियो। तर एक अर्ब ३१ करोड ७८ लाख, ४३ हजार ६१ रुपैयाँ मात्र खर्च भएको छ।
एक करोड ९३ लाख ८० हजार २२४ रुपैयाँ फ्रिज भएको राखेपको प्रतिवेदनमा छ। तीन करोड ५५ लाख ७१ हजार १३७ रुपैयाँ बैंक मौज्दात छ।
राखेपको विवरणअनुसार सागका लागि नेपाल सरकारबाट एक अर्ब २३ करोड १८ लाख ४८ हजार प्राप्त भएको थियो।
टिकट बिक्रीबाट दुई करोड ६७ लाख ११ हजार ६७५ रुपैयाँ संकलन भएको विवरणमा उल्लेख छ। यस्तै विज्ञापनबाट २० लाख ९९ हजार १५० रुपैयाँ सकंलन भएको थियो।
सहभागी राष्ट्रबाट प्राप्त ११ करोड २१ लाख ३५ हजार ५९८ रुपैयाँ गरी कुल एक अर्ब ३७ करोड २७ लाख ९४ हजार ४२३ रुपैयाँ आम्दानी भएको थियो।
‘सागमा हरेक खेलाडी र प्रशिक्षकलाई इलेक्ट्राेनिक्स डिभाइसबाट मेजरिङ गर्ने, उद्घाटन र समापन अझै भव्य गर्ने भन्ने थियो। होटेल र व्यवस्थापनको खर्च अलि ठूलो थियो। त्यसलाई घटाउन सफल भयौं,’ सिलवालले भने।
सागमा सुरक्षा व्यवस्थापनमा १२ लाख ४६ हजार ६३३ रुपैयाँ खर्च भएको छ।
सुरुमा होटेल व्यवस्थापनमा ठूलो खर्च हुन अनुमान गरिएको थियो। पछि समन्वय गरेर खर्च घटाउन सफल भएको सिलवालले बताए।
‘सागका लागि सोझै सामान खरिद गरिएकाले पनि खर्च बचत भएको हो,’ उनले भने।
‘पूर्वाधारमा खर्च उपलब्धिमूलक’
भूकम्पपछि दशरथ रंगशाला जीर्ण थियो। रंगशाला मर्मतका लागि ६८ करोड एक लाख ५६ हजार खर्च भएको थियो।
सातदोबाटोस्थित विभिन्न खेल स्थल निर्माण, कीर्तिपुर क्रिकेट मैदान, पोखरा रंगशाला, धनुषा कभर्डहल, च्यासल मैदान जस्ता पूर्वाधार निर्माणमा दुई अर्ब ८६ करोड १४ लाख २८ हजार ९७३ रुपैयाँ खर्च भएको छ।
यसका लागि गत आवमा एक अर्ब ७५ करोड ७५ लाख ६३ हजार ९७५ खर्च भएको थियो।
पूर्वाधारमा भएको खर्चले नेपालको सान बढाएको सदस्यसचिव सिलवालको दाबी छ।
‘हामीले पनि अन्तर्राष्ट्रिय खेल भव्यताका साथ आयोजना गर्न सक्ने रहेछौं भन्ने सन्देश गएको छ,’ उनले भने।
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण कार्यक्रमलाई पनि सागको पूर्वाधार खर्चले सहयोग गरेको सिलवालले बताए।
राष्ट्रिय खेलकुदबारे मंसिरभित्रै निर्णय
सिलवालले नवौं राष्ट्रिय खेलकुदबारे यसै महिनाभित्र निर्णय गरिने बताएका छन्। उनले भने, ‘खेलिस् भन्दा खेलें भनेजस्तो मात्र प्रतियोगिता नभएर प्रभावकारी खेल गराउनुपर्छ।’
कम्तीमा जिल्ला स्तरमा एक महिना प्रशिक्षण गराउने र थप एक महिना प्रदेश स्तरमा प्रशिक्षण गराएर मात्र राष्ट्रिय खेलमा समावेश गराउने योजना छ। यसका लागि सरकारले पनि अनुमति दिएको छ।
कोरोना माहामरीका कारण प्रतियोयगिता हुने नहुनेमा अझै दुविधा कायमै छ। आगामी राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना गरिँदै छ।
उनले भने, ‘अब साता १० दिनमा कोरोना महामारी सहज अवस्थामा गयो भने प्रतियोगिता हुन्छ, नभए गाह्रो छ।’
चाैधाैं साग पाकिस्तानले नगरे श्रीलंका र माल्दिभ्स मिलेर गर्ने
तेह्राैं साग समापन समाराेहमा पाकिस्तानले झन्डा उचाल्दै १४ साग आयोजना गर्ने घाेषणा गरेकाे थियाे। तर प्रतियोगिता सकिएको एक वर्ष हुन लाग्दा पनि पाकिस्तानको निर्णय आएको छैन। सिलवालले भने, ‘पाकिस्तानका प्रतिनिधिहरुले ६ महिनाभित्रै जानकारी दिनेछौं भन्नुभएको छ।’
उसले गर्न नसक्ने भएमा श्रीलंका र माल्दिभ्सले संयुक्त रुपमा तोकिएकै मितिमा गर्ने बताएकाे जानकारी सिलवालले दिए।