काठमाडौं- प्रतियोगित सम्पन्न भएको एक वर्षपछि आज (आइतबार) १३ औं दक्षिण एसियाली खेलकुद (साग)को हिसाब सार्वजनिक गरिने भएको छ।
खेलकुद प्रतियोगिता सकिएको झन्डै एक वर्षसम्म हिसाव सार्वजनिक नगरेको भन्दै राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आलोचना हुँदै आएको थियो । सागका क्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारमा समेत उजुरी परेको थियो ।
अख्तियारको ताकेतापछि राखेपको सदस्य सचिवको रुपमा दोस्रो पटक नियुक्त भएका रमेश कुमार सिलवालले आज सागको हिसाव सार्वजनिक गर्न लागेका हुन् ।
गत साउन १५ गते सदस्य सचिवको सपथ लिएर पदवहाली गर्दै सदस्य सचिव सिलवालले सागको हिसाबकिताब तयार पारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गर्ने र सार्वजनिक पनि गर्ने बताएका थिए।
लामो योजनाका साथ राखेप छिरेका सिलवालले पदवहालीका क्रममा आफू पैसा कमाउन र भ्रष्टाचार गर्न दोहोर्याएर परिषदमा नआएको दाबी गरेका थिए । उनले भनेका थिए, ‘अहिलेसम्म शीर ठाडाे पारेर बाँचेको छु, अब पनि इमानका साथ काम गर्नेछु।’
सिलवालले गत वर्ष दक्षिण एसियाली खेलकुद (साग) सफलतापूर्वक आयोजना गरेको भए पनि अडिट रिपोर्ट सार्वजनिक नगरेको र आर्थिक पारदर्शिता कायम नगरको ओरोप लागेको छ।
उनले त्यो आरोपको खण्डन गर्दै सपथपछि भने, ‘मैले गत आर्थिक वर्षको असार १७ गतेपछि काम गर्न पाइनँ। त्यसैले सागको खर्च विवरण सार्वजनिक गर्न पाएको छैन। अब छिटै सो विवरण अडिट गरेर सार्वजनिक गर्नेछु।’
आरोपको खण्डन गर्दै सिलवालले पदवहालीका क्रममा १२ औं सागसम्मको हिसाब कुनै देशले पनि सार्वजनिक नगरेको दाबी गरेका थिए। तर आफ्नो कार्यकालमा भने हिसाब सार्वजनिक गर्ने बताएका थिए।
चार वर्षका लागि २०७६ को असारमा सदस्य सचिवमा नियुक्त भएका सिलवाल राष्ट्रिय खेलकुद विकास ऐन २०७७ आएपछि पहिलो नियुक्तिको एक वर्षपछि पुन चार वर्षका लागि सदस्य सचिवको जिम्मेवारीमा छन्।
उनको दोस्रो कार्यकालको चार महिना भोलि पूरा हुँदैछ।
नेपालमा गत वर्षको १५ मंसिरबाट २४ मंसिरसम्म आयोजना भएको सागमा नेपालले ५१ स्वर्णसहित २०६ पदक जितेको थियो।
सागमा यो जित अहिलेसम्मकै उच्च हो। त्यसैले खेलकुदको क्षेत्रमा गत वर्षलाई स्वर्ण वर्षको रुपमा समेत चिनिन्छ।