जनकपुरधाम- बाबुआमाले रुखासुखा खुवाएर पनि लालनपालन गरेकै थिए। गाउँको स्कुलमा पढ्न पठाउँथे। अरुको जस्तै छोरालाई धेरै पढाएर ठूलो मान्छे बनाउने धोको थियो अभिभावकको।
तर, मनोज महरालाई पढाइलेखाइमा रुचि जागेन। आमाबुबाले पढ्न आग्रह गर्दा उनलाई झिजो लाग्थ्यो। पढ्ने दबाबबाट बच्न उनले गाउँ मात्रै होइन, देशै छाडे।
१५ वर्षअघि धनुषाको मुखियापट्टीस्थित घर छाड्दा मनोजको उमेर १२ वर्षको थियो। विपन्न परिवारमा जन्मिएका उनी गन्तव्यहीन यात्रामा निस्किए। न कुनै सपना न कुनै योजना उनी एक्लै भारतको मुम्बईमा पुगे।
मुम्बई उनलाई सपनाको सहरजस्तै लाग्यो। गगनचुम्बी भवन, सफा र फराकिला सडक, ठूलाठूला बजार र मान्छेको भीड देख्दा चकित भए।
बिरानो ठाउँमा के खाने, कहाँ बस्ने? उनी ठूलो समस्यामा परे। पेट पाल्नकै लागि कयौं दिन मगन्ते बने। कति समय त सडकमै सुते।
मुम्बईको परिवेशमा बिस्तारै घुलमिल हुँदै गएपछि उनलाई त्यत्तिकै बस्न मन लागेन। अनि लागे कामको खोजीमा। पढलेख केही थिएन। काम कसरी पाउनु?
उनी भन्छन्, ‘घर छोडेर परदेश पुगेपछि केही समय निकै दुःख पाएँ। कति दिन त सडकमै सुतें। मागेर खाएँ। यसरी त भविष्य बन्दैनथ्यो। साथीभाइलाई काम खोजिदिन आग्रह गरें, उनीहरुले धेरै मद्दत गरे।’
शैक्षिक योग्यता नभएकाले राम्रो काम पाउने सम्भावना थिएन। उनले भने, ‘घरेलु मजदुर (घर खाता) का रुपमा काम थालें।’
झाडु लगाउन, भुइँ पुछ्न र भाँडा माझ्न पथ्र्यो उनले। त्यो पनि एउटा घरमा होइन, घरघरमा पुगेर काम गर्थे। उनले मासिक दुई हजार रुपैयाँ पारिश्रमिक पाउँथे।
मनोजका अनुसार मुम्बईमा घरघरमा गई झाडु, पोछा, भाँडा माझ्ने कामलाई घर खाता भनिन्छ।
घरखातामै काम गर्दै जाँदा मनोजको भेट एक बस्तीका रमाकान्त मुन्डेसँग भेट भयो।
रमाकान्त बलिउड सेलिब्रेटीकाे फोटोग्राफी गर्थे। उनले मनोजलाई आफ्नो घरमा पनि झाडुपोछा लगाइदिन प्रस्ताव गरे। अरुले भन्दा बढी पैसा दिएपछि मनोजले उनको प्रस्ताव अस्वीकार गर्ने कुरै भएन। मनोज रमाकान्तलाई गुरुजी भनेर सम्बोधन गर्थे।
मनोज रमाकान्तको घरमा काम गर्न जाँदा घण्टौंसम्म क्यामेरा नियाल्थे। रमाकान्तका क्यामेरा ठुल्ठुला थिए। कहिलेकाहीं गुरुजी आफूले खिचेका बलिउड सेलिब्रेटीको तस्बिर देखाइदिन्थे।
उनी भन्छन्, ‘सुरुमा मुम्बई छिर्दा मसँग त कुनै लक्ष्य थिएन। तर गुरुजीको घरमा काम गर्दा आफू पनि उनीजस्तै ठूलो फोटोग्राफर बन्न पाए हुन्थ्यो जस्तो भयो।’
मनोजका लागि बलिउडमा छुट्टै फोटोग्राफरको पहिचान बनाउने यात्रा सहज थिएन।
उनका गुरुजीले फिल्डबाट फर्किएपछि आफ्ना क्यामेरा सधैं एउटा टेबलमा राख्ने गर्थे। एक दिन मनोजले त्यो क्यामेरा उनीसँग नसोधी चलाइदिए। रमाकान्तको नजर मनोजमाथि पर्यो र सोधिहाले, क्यामेरा चलाउन सिक्छौ त?
गुरुजीको त्यो प्रस्ताव सुन्दा आफू अक्कनबक्क बनेको मनोजको स्मृतिमा ताजै छ।
रमाकान्त मनोजलाई फोटोग्राफी सिकाउन तयार भए। तर एउटा सर्तमा, त्यो के थियो भने रमाकान्तले फोटोग्राफी निःशुल्क सिकाइदिने अनि मनोजले घरको काम बिना पारिश्रमिक गर्नुपर्ने।
उनले भने, 'मैले पहिलो विकल्प रोजें अर्थात् अरु ठाउँमा गरिरहेका काम छोडेर उनको घरमा सित्तैंमा काम गर्न तयार भएँ।'
रमाकान्त मनोजलाई पारिश्रमिक नदिए पनि घरमा बस्न र खानलाउन दिन सहमत भए। त्यसपछि मनोजले फोटोग्राफी सिक्न थाले।
रमाकान्तले मनोजलाई फोटोग्राफी मात्रै सिकाइदिएनन् बलिउडका नायकनायिकासँग सम्बन्धसमेत बढाइदिए।
यति बेला मनोज बलिउडको रंगीन दुनियाँमा जमेका छन्। मनोजलाई अहिले बलिउडका लगभग सबै नायकनायिकाले चिन्छन्। उनीहरुले समयसमयमा फोटोग्राफीका लागि बोलाउँछन् पनि।
मनोजका फोटो र भिडियो बलिउडका स्टारहरुले आफ्ना सामाजिक सञ्जालमा प्रयोग गर्ने गरेका छन्। मनोज स्वयंको इन्स्टाग्राममा २४ हजारभन्दा बढी फलोर्स छन्।
उनी भन्छन्, ‘बलिउडमा फोटोग्राफी गरेको लगभग ६ वर्ष जति भएको छ, कमाइ पनि राम्रै भइरहेको छ।'
उनी अहिले मासिक ५० हजार भारु कमाउँछन्। पत्रिकाहरुलाई फोटो बेचेबापत प्राप्त आम्दानी त छँदै छ।
मनोजले बलिउडका महानायक अमिताभ बच्चन, साहरुख खान, इरफान खान, रणवीर कपुर, दीपिका पादुकोण, जान्ह्वी कपुर, साराअली खान लगायतका सेलिब्रेटीको फोटो खिचेका छन् भने उनको फोटो भारतका ठुल्ठुला मिडियाले किन्ने पनि गरेका छन्।
उनको घरको आर्थिक अवस्था अझै राम्रो छैन। घर पनि कच्ची छ। उनी परिवारलाई पनि मुम्बईमै सेटल गर्ने योजनामा छन्। उनका दुई छोरी- मनिका र अनिका, पत्नी र बाआमा मुखियापट्टी मुसहरनियामै छन्।
उनले भने, 'गाउँमा पनि एउटा पक्की घर बनाउनेछु।'