सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दाङमा माहुरीपालन फस्टाउँदै, गत वर्षभन्दा १०० टन बढी उत्पादन 

दाङमा माहुरीपालन फस्टाउँदै, गत वर्षभन्दा १०० टन बढी उत्पादन 

दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ। 
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

दाङ– दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ। 

माहुरीपालनका लागि वातावरण, तोरीखेती, चिउरीको वन, विभिन्न प्रकारका फूललगायत प्रशस्त भएकोले व्यावसायिक माहुरीपालक कृषकको संख्यामा वृद्धि हुँदै गएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइअन्तर्गत घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागू गरिएको छ।   

घोराही–१८ फुर्सेखालीका युगराज पोखरेलले चार घार माहुरीबाट शुरु गरेको व्यवसायमा अहिले ६० घार भएका छन्। 

उनले प्रत्येक मौसममा ६ लाखसम्मको मह र दुई लाख रुपैयाँ बराबरको माहुरीको गोला बिक्री गर्दै आएको बताउँछन्। 

तुलसीपुर–८ की सरस्वती आचार्यले चार वर्षअघिदेखि माहुरीपालन व्यवसाय गर्दै आइरहेकी छन्। उनीसँग ३२ घार माहुरी छ। 

मह र माहुरी बेचेर वार्षिक तीन लाख रुपैयाँ आम्दानी भइरहेको आचार्यको भनाइ छ। 

तुलसीपुरमै मह प्रशोधन उद्योग भएकाले प्रशोधनको समस्या पनि छैन। चरन राम्रो भएमा प्रतिघार २२ किलोसम्म मह उत्पादन हुने आचार्यको अनुभव छ। 

नेपाल माहुरीपालन महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष १०० टन बढी मह उत्पादन भएको छ। 

दाङका किसानले १६ हजार घार माहुरी पालेका छन्। यसबाट सिजनमा ६५० टनभन्दा बढी मह उत्पादन हुने गरेको छ। मह प्रतिकिलो २५० देखि ४०० सम्ममा बिक्री हुँदै आएको छ।

दाङमा नारायणपुर, तुलसीपुर, रामपुर, फुर्सेखाली, लक्ष्मीपुर, धर्ना, गुरुवागाउँ माहुरी पालनका लागि उपयुक्त क्षेत्र मानिन्छन्।
–रासस
 

प्रकाशित: Nov 27, 2020| 11:33 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्