काठमाडौं– युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इटालियन क्लब रोमा र नापोलीले २–० गोलको जित निकालेका छन्।
लिग अन्तर्गत सीएफआर क्लुजको मैदानमा सम्पन खेलमा पाहुना टिम रोमाले घरेलु टिमलाई २–० गोलले हराएको हो।
पहिलो हाफ बराबरीमा टुंगिएको खेलको दोस्रो हाफको ४९ औं मिनेटमा घरेलु टिमका ग्यब्रियल डेबेल्जुहले आफ्नै पोस्टमा गोल गरेपछि रोमाले अग्रता बनाएको थियो।
यता ६७ औं मिनेटमा पेनाल्टीको अवसर पाएपछि, सो अवसरमा गोल गर्दै रोमाले दुई गोल शुनिश्चित गर्यो।
पेनाल्टीबाट जोर्डन भेराउटले गोल गरे। जितसहित १० अंक बनाएको रोमा समूह ‘ए’ को शीर्षस्थानमा छ। ऊ जारी सिजनमा अपराजित टिमसमेत हो।
यता दोस्रो स्थानको योङ बोइज ७ अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै समूह एफको खेलमा जित निकाल्दै अर्को इटालियन क्लब नापोली समूहको शीर्षस्थान छ।
बिहीबार रातिको खेलमा उसले घरेलु मैदानमा पाहुना टिम रिजेकालाई २–० गोलले हराएको हो।
जितका लागि माट्टेयो पोलिटानो र हिर्विङ लोजानोले गोल गरे। पोलिटानोले ४१ औं मिनेटमा गोल गरे भने लोजानोले ७५ औं मिनेटमा गोल गरेका थिए।
समूह एफकै अर्को खेलमा स्पेनिस क्लब रियल सोसिडाड अल्कमारसँग बराबरीमा रोकिएको छ। समूहको दोस्रो स्थानमा रहेको सोसिडाडको ७ अंक छ।
दिवंगत अर्जेन्टिनी खेलाडी डियागो म्याराडोनालाई श्रद्धाञ्जली दिएर खेल सुरु भएको थियो।