भैरहवा– अर्थमन्त्री विष्णु पौडेलले लोभलालचमा नपरी काम गर्न भन्सार र राजस्वका कर्मचारीलाई निर्देशन दिएका छन्।
भैरहवा भन्सार कार्यालयको निरीक्षणपछि बिहीबार भन्सार र आन्तरिक राजस्वका कर्मचारीलाई निर्देशन दिँदै पौडेलले राष्ट्रहित सम्झेर काम गर्दै परिणाम निकाल्न आग्रह गरेका हुन्।
उनले भने, ‘यो राज्यलाई सहयोग गर्ने बेला हो। त्यसैले तपाईंहरूले दृढताकासाथ सुशासन र पारदर्शितालाई ध्यानमा राखेर काम गर्नुस्।’
अर्थमन्त्री पौडेलले कोरोना भाइरसका कारण राज्यलाई स्रोत जुटाउन समस्या भएको बताउँदै राजस्व चुहावटलाई नियन्त्रण गर्न आग्रह पनि गरे।
उनले राजस्व अभिवृद्धिमा कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले सबै एकजुट भएर काम गर्नुपर्ने बताए।
पौडेलले भन्सारका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको पनि बताए। उनले भने, ‘भैरहवा नाकामा एकीकृत जाँच चौकी (आइसिपी) निर्माण अघि बढाउन पहल भइरहेको छ।’
–रासस