सोमबार, भदौ २९, २०८३

विद्युत् प्राधिकरण स्मार्ट ग्रिडतिर

पुरानो वितरण प्रणालीलाई सुधार र स्तरोन्नति गरी नयाँ स्मार्ट ग्रिड विस्तार भइरहेको प्राधिकरणले जनाएको छ। 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं- नेपाल विद्युत् प्राधिकरण स्मार्ट ग्रिडतर्फ अग्रसर भएको छ। ग्राहकलाई सहज, सर्वसुलभ, भरपर्दो तथा किफायती विद्युत् आपूर्तिसहितको आधुनिक सेवाका लागि प्राधिकरण स्मार्ट ग्रिड प्रणालीतर्फ आकर्षित भएको हो। 

पुरानो वितरण प्रणालीलाई सुधार र स्तरोन्नति गरी नयाँ स्मार्ट ग्रिड विस्तार भइरहेको प्राधिकरणले जनाएको छ। 

विद्युत् उत्पादन, प्रसारण लाइन तथा वितरण प्रणालीलाई भरपर्दो तथा समय सान्दर्भिक तथा विद्युत् सम्बन्धी विश्वव्यापी रुपमा अपनाइएका नवीनतम प्रविधि भित्र्याई नेपालको विद्युत क्षेत्रलाई आधुनिक बनाउन प्राधिकरणले स्मार्ट ग्रिड प्रणालीलाई अघि बढाएको प्राधिकरणका अधिकारी बताउँछन्। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गुणस्तरीय, भरपर्दो र किफायती ऊर्जाका लागि स्मार्ट ग्रिडको अवधारणा अघि बढाएर काम सुरु गरिसकेको जानकारी दिए। 

उनका अनुसार प्राधिकरणले आफ्नो बन्ने संरचना तथा सेवाहरुलाई डिजिटलाइज गर्दै अघि बढेको छ। 

उनले भने, 'स्मार्ट ग्रिड सिस्टममा प्राधिकरणलाई जति चाँडो लैजान सकिन्छ उति चाँडो हामी गुणस्तरीय विद्युत् उपभोक्तालाई दिन सक्छौं र  प्राधिकरणको प्रणाली पनि सशक्त हुन्छ। हामीले विद्युत् उत्पादनदेखि प्रसारण लाइन, वितरण र भारप्रेषण केन्द्रलाई आधुनिक बनाउँदै छौं।'
उनका अनुसार मुख्य रुपमा नेपाल सरकार तथा प्राधिकरणकै मास्टर प्लानअनुसार हाम्रा सवै निर्देशनालय तथा कार्यालयलाई अत्याधुनिक प्रविधि मैत्री (डिजिटलाइज्ड एनइए) बनाउन काम गरिरहेका छौं। 

एसियाली विकास बैंक (एडीबी) नेपाल कन्ट्री मिसन प्रमुख मुख्तर खामुदखानोभले संसारका धेरै देशहरुले विद्युतको क्षेत्रफलमा उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई स्तरोन्नति गरिरहेको बताए। 

नेपालले पनि वर्षौं पुराना विद्युतका संरचनाहरुलाई समयसापेक्ष रुपमा स्तरोन्नति गरी विद्युत् उपभोक्तालाई समयसापेक्ष अनुसारको सेवा तथा सुविधा दिनुपर्ने उनकाे भनाइ छ। उनले भने, 'एडीबी यो कार्यका लागि नेपाल सरकारसँग निरन्तर सहकार्यमा अगाडि बढिरहेको छ।'

एडीबीका दक्षिण एसिया विभाग हेर्ने मुख्य ऊर्जा विशेषज्ञ जीवन आचार्यले अपर्याप्त ऊर्जा उत्पादन, कमजोर वितरण प्रणाली र प्रसारण पूर्वाधारका कारण नेपालको विद्युत् क्षेत्रले धेरै महत्त्वपूर्ण चुनौती सामना गरिरहेको बताए। 

उनले वर्षौंको लगानी र विद्युत् क्षेत्र सुधारमा ढिलाइ भएका कारण नेपालले यो समस्या भोग्नुपरेको बताए। 

हाल विश्वमा विद्युतको ल्यान्डस्केप नै परिवर्तन भइरहेकाले विद्युत् वितरण, यसमा प्रयोग हुने प्रविधि, सेवा, प्रविधिको उच्चतम प्रयोग, नियामक निकायलाइसमेत सहयोग हुने भएकाले स्मार्ट ग्रिडको प्रयोगले विद्युत् वितरणमा सहजता, सुविधा तथा सुुरक्षा पनि हुन्छ। 

एडीबीले नेपालमा पावर ट्रान्समिसन एन्ड डिस्ट्रिब्युसन इफिसेन्सी परियोजना अन्तर्गत स्मार्ट मिटरको मार्गचित्र बनाएर सहायतासमेत गरिरहेको छ। 

यसबाट विद्युत् प्राधिकरणको चुहावट कम, पिकलोड व्यवस्थापन, सस्तोमा बिजुली, सम्पत्ति व्यवस्थापन, ठूलो मात्रामा स्मार्ट मिटरले खर्च कटौती लगायतका सहायता पुग्नेछ भने बिजुलीको भरपर्दो आपूर्ति, विद्युत् कटौतीको कम, डिजेल जेनेरेटरको आवश्यकता कम, पैसाको बचत लगायतका फाइदा उपभोक्तालाई पुग्नेछ। 

प्रकाशित: Nov 26, 2020| 13:02 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्