यस वर्ष विमान कम्पनीहरुले ११८.५ अर्ब डलर घाटा व्यहोर्नुपर्ने प्रक्षेपण गरिएको छ।
विमान कम्पनीको विश्वव्यापी संगठन अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईटीएफ) ले सन् २०२१ मा नोक्सान रकम ३८.७ डलर हुने अनुमान गरेको छ।
आईएटीएका मुख्य अर्थशास्त्री ब्रयान पियर्सेले भने, '२०२० को पछिल्लो ६ महिना निकै निराशाजनक रह्यो। यसबाट विश्वस्तरमा विमान कम्पनीको नोक्सान सन् २०२० मा ८४.३ अर्ब डलर र २०२१ मा १५.१ डलर हुने अनुमान गरिएको थियो। '
तर अब नोक्सान रकममा बढोत्तरी आउने पर्याप्त सम्भावना रहेको उनले बताए।
कोरोना भाइरस महामारीका कारण लगाइएको प्रतिबन्धले २०२० मा हवाई यातायात ठप्पजस्तै बनेको छ।
पियर्सेले भर्चुअल पत्रकार सम्मेलनमा भने, 'चालु वर्षको पछिल्लो ६ महिना पनि ज्यादै निराशाजनक रह्यो। यस कारण हामीले पहिलो अनुमान संशोधन गर्न बाध्य भएका छौं।'
उनका अनुसार २०२० मा विमान उद्योगमा कुल ११८.५ अर्ब डलर घाटा हुने अनुमान गरिएको छ।
आईएटीएका महानिर्देशक अलेक्जेन्ड्र डी जुनियाकले भने, 'यो संकट विनाशकारी र अविश्वसनीय छ। विमान कम्पनीहरुले आफ्नो लागतमा ४५.८ प्रतिशत कटौती गरेका छन्। यसबाट राजस्वमा ६०.९ प्रतिशतमा कमी आएको छ। परिणामस्वरुप विमान कम्पनीहरुले यस वर्ष ११८.५ अर्ब डलर नोक्सान व्यहोर्दै छन्।'
उनका अनुसार कोभिड १९ संकटले २०२० मा उद्योगहरुले अस्तित्व जोगाउन निकै ठूलो चुनौती सामना गरिरहेका छन्।
उनले भने, 'सन् २०२० इतिहासमै सबैभन्दा खराब वित्त वर्षका रुपमा रहनेछ। विमान कम्पनीले प्रतिदिन औसतमा एक अर्ब डलर कटौती गरिरेहका छन्। यसले अभूतपूर्व नोक्सानी व्यहोर्नुपर्नेछ।'
संगठनले विश्वका सबै सरकारलाई हवाई उडानका लागि कोरोना भ्याक्सिनको प्रतीक्षा नगर्न अपिल गरेको छ।
संगठनले भनेको छ, 'जसलाई कोरोना संक्रमण भएको छैन, उसलाई उडान अनुमति दिनुपर्छ।'
जुनियाकले भने, 'हामी भ्याक्सिनको प्रतीक्षा गर्न सक्दैनौं। भ्याक्सिन सन् २०२१ को मध्यसम्म पनि उपलब्ध हुन सक्दैन। त्यसैले यात्रीको कोरोना भाइरस परीक्षण गरी नेगेटिभ रिपोर्ट आएकाहरुलाई यात्रा अनुमति दिनुपर्छ।' रोयटर्स