काठमाडौं– आज बुधबार सेयर बजार परिसूचक (नेप्से) रेकर्ड नजिक पुगेको छ।
यसअघि ०७३ साउन १२ गते सबैभन्दा बढी १८८१ अंकमा पुगेकोमा आज ६४.७ अंकले उकालो लाग्दै १८७४.८१ अंकमा अडिएको छ।
आज होटलबाहेक सम्पूर्ण परिसूचक बढेको छ। बैकिङ समूह ४०.४ अंकले उकालो लागेको छ भने सबैभन्दा बढी व्यापार र उत्पादनमूलक क्षेत्र उच्च अंकले बढेको छ। दिनभर १९६ कम्पनीको ५ अर्ब १३ करोड रुपैयाँबराबरको कारोबार भएको छ।
बैंकिङ समूहमा राष्ट्रिय बाणिज्य बैंकबाहेक २६ वटै बैंकको सेयर मूल्य बढेको छ। रावा बैंक भने सरकारको स्वामित्वमा भएकाले नेप्सेमा कारोबारको लागि सूचीकृत नै भएको छैन।
सेयर ब्रोकरहरुका अनुसार ब्याजदर अझै घट्ने समाचार र सेयर बजार थप उचाइमा पुग्ने हल्लाका कारण बजार बढेको हो।
आज विशाल बजार र एनएमबी माइक्रोफाइनान्सको सेयर बढेर सर्किट ब्रेक नै लागेको छ। नेपाल टेलिकम, नेपाल रि–इन्स्योरेन्स कम्पनी, एलिको इन्स्योरेन्स, शिवम् सिमेन्ट, अरुणकाबेली जलविद्युत, ङादी ग्रुप पावरलगायतले सर्वाधिक कमाएका छन्।
बढ्दो बजारमा पनि गुमाउनेमा २२ वटा कम्पनी छन्।