इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुलले लेस्टर सिटीलाई हराएको छ। लिभरपुलको एनफिल्ड मैदानमा सम्पन्न खेलमा घरेलु टिमले ३–० गोलको जित निकालेको हो।
घरेलु टिमका लागि गोल गर्दै डियागो जोटाले लिगका लगातार चार सुरुवाती घरेलु खेलमा गोल गर्ने खेलाडीको रेकर्ड बनाएका छन्। उनले खेलको ४१ औं मिनेटमा रोबर्टसनको पासमा गोल गरेका थिए।
उनको रेकर्डसँगै लिभरपुलले शीर्षस्थानको टोटेनहम हट्स्परसँग अंक बराबरी गरेको छ। तर गोलअन्तरका कारण लिभरपुल दोस्रो स्थानमै सीमित छ।
त्यस्तै लिभरपुलले एउटा क्लब रेकर्ड पनि ब्रेक गरेको छ। रोबर्टो फर्मिनोले ८६ औं मिनेटमा अन्तिम गोल गरेर जित निकालेसँगै लिभरपुल लिगका लगातार ६४ होम गेममा अपराजित छ। फर्मिनोका लागि जेम्स मिल्नरले एसिस्ट गरे।
उसले आफ्नै पहिलो रेकर्ड ब्रेक गरेको हो। यसअघि सन् १९७८ फेब्रुअरी र १९८१ जनवरीमा उसले बनाएको रेकर्ड ब्रेक गरेको हो।
उक्त खेलमा लेस्टर सिटीले लिभरपुलको जितको लय भत्काएको थियो।
लिभरपुलले खेलाडी अभावमा पनि सहज जित निकाल्न सक्यो। आइतबार रातिको खेलमा टिमका मुख्य खेलाडी भर्जिल भान डाइक, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, जोइ जोमेज, जोर्डन हेन्डरसन, थियागो अल्कान्तारा, मोहम्मद सलाह जस्त खेलाडी अनुपस्थित थिए।
‘टिममा धेरै राम्रा कुराहरु छन्। म एउटाले मात्र खुसी बनाउँछ भनेर इंकित गर्न सक्दिनँ तर आजको खेलको राइट ब्याकमा जेम्स मिल्नरको खेल राम्रो रह्यो,’ प्रशिक्षक क्लोपले खेलपछि भने।
लेस्टरका इभान्सले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलले सुरुवाती अग्रता कोसेलीस्वरुप पाएको थियो।