काठमाडौं– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सामाजिक सञ्जाल फेसबुक प्रयोग गरेर १० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
आफूलाई ठूलो समस्या परेको, ब्राजिलमा रहेको परिवार गम्भिर बिरामी रहेको भनी महिलालालई फेसबुक मार्फत साथी बनाई विश्वास दिलाई तत्काल फिर्ता गर्ने भन्दै रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाजुराको हिमाली गाउँपालिका– ४ बस्ने २७ वर्षीय रुपचन्द्र पाण्डे रहेका छन्। ती युवकले विभिन्न समयमा गरेर दश लाख २८ हजार सात सय रुपैयाँ ठगी गरेको खुलेको छ।
उनलाई बाँकेको नेपालगञ्जबाट पक्राउ गरिएको हो। स्याङ्जा जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर मुद्धामा अनुसन्धान गर्न ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।