काठमाडौं– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद उत्कर्षमा रहेकै बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।
ओली र देउवाबीच शनिबार दिउँसो बालुवाटारमा छलफल भएको देउवानिकट एक नेताले जानकारी गराए।
ती नेताका अनुसार भेटमा विश्वविद्यालयका पदाधिकारी नियुक्तिबारे छलफल भएको थियो। त्यस्तै संवैधानिक आयोगमा रिक्त पदाधिकारी नियुक्ति गर्नेबारे पनि छलफल भएको बताइएको छ।
एक अर्को स्रोतका अनुसार भने ओलीले पार्टीभित्र देखिएको विवाद र पछिल्लो घटनाक्रमका बारेमा पनि देउवासँग छलफल भएको थियो।
‘पार्टी विभाजन हुने अवस्था आयो भने सहकार्य गरेर अघि जान सक्ने विषयमा पनि छलफल भएको बुझिएको छ,’ एक स्रोतले भन्यो, ‘तर, अहिले नै त्यो अवस्था नआएकाले छलफल त्यसैमा केन्द्रित भएन।’
ओली र देउवा दुबैले आफू निकटका केही नेताहरूसमेत राखेर छलफल गरेका थिए।