काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटना परेर ६ जनाको मृत्यु भएको छ।
कञ्चनपुर, रौतहट, नवलपरासी पश्चिम, बारा, सप्तरी र लमजुङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको हो।
कञ्चनपुर, कृष्णपुर नगरपालिका–३ स्थित सडकमा म १ प ६७६६ नम्बरको मोटरसाइकल र से १ त ९५३३ नम्बरको ट्याक्टर ठोक्किएर मोटरसाइकलमा सवार स्थानीय ३५ वर्षीया ममता जोशीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसहित २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै रौतहट बौधिमाई नगरपालिका–९ स्थित सडकमा ना ६ प ७४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा परोहा नगरपालिका–६ बसनपट्टी बस्ने ३५ वर्षीय प्रविण सिंहको मृत्यु भएको हो। उनी महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी हवल्दार हुन्।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३५ वर्षीय राकेश सिंहको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ अस्नैयास्थित सडकमा लु ३ त ६०३९ नम्बरको ट्याक्टरबाट लडेर ७ वर्षीय दिपेशबहादुर क्षेत्रीको मृत्यु भएको छ। ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका दिपेशको तिनाउ अस्पताल बुटबल हुँदै मेडिकल कलेज भैरहवामा थप उपचार गर्दागर्दै मृत्यु भएको हो। फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
बाराको महागढीमाई नगरपालिका–८ जोलगाभास्थित सडकमा ना ६२ प ३६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कलैया उपमहानगरपालिका–१ बस्ने प्रहरी चौकी खेस्रा पर्सामा कार्यरत प्रहरी जवान २७ वर्षीय राजकिशोर साहको घटनास्थलमै मृत्यु भएको छ।
सप्तरीको कञ्चनरुप नगरपालिका–१० स्थित सडकमा स ११ प ११७६ नम्बरको मोटरसाइकलले सोही नगरपालिका–८ बस्ने २० वर्षीय बिर्स कुमार साहले चलाएको साईकललाई बेलुका ठक्कर दिँदा साइकलमा सवार हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुषको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल हुँदै गोल्डेन अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो।
त्यस्तै लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित सडकमा ग १८ प ५८७३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ३५ वर्षीय नवराज पौडेलको मृत्यु भएको छ।