काठमाडौं– सत्तारुढ दल नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई लगाएका आरोप तथ्यहीन र आधारहीन भएको बताएका छन्। दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावलाई उनले प्रस्ताव नै भन्न नमिल्ले बताए।
आज शुक्रबार अपरान्ह सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले भने, ‘त्यो कुनै राजनीतिक प्रस्ताव होइन, अभियोगपत्र हो। प्रक्रियाको हिसाबले पनि त्यसलाई प्रस्ताव भन्न मिल्दैन। दुई अध्यक्षको सहमतिमा मात्र प्रस्ताव आउँछन्। यसमा सहमति त परै जावस्, कुनै सल्लाह–परामर्श गरिएको छैन।’ दाहालको प्रस्तावलाई ओलीले अस्वीकार र खारेज गरेको सुनाउँदै पोखरेलले त्यसको यथोचित ढंगले खण्डन र प्रतिवाद अध्यक्ष ओलीले गर्ने बताए।
‘अध्यक्ष ओलीले समय माग्नुभएको छ। १३ गतेको बैठकमा आरोपबारे औपचारिक रुपमा आफ्नो देृष्टिकोण राख्नुहुन्छ। आरोपको छिनोफानो हुन्छ। या त अभियोगहरु पुष्टि हुनुपर्छ। नभए आरोप लगाउनेसँग त्यसको हिसाबकिताब हुन्छ। आरोप पुष्टि नभएपछि आरोप लगाउनेमाथि प्रश्न त उठ्छ नै,’ पोखरेलले भने।