काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा आवश्यक भएको बताएका छन्।
कर, भ्याट, अन्तःशुल्क लगायतमा देखिएका समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न सक्ने र स्पष्ट भनाइ राख्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा आउनुपर्नेमा मुरारकाको जोड छ।
त्यो भूमिका किशोर प्रधानले मात्र निर्वाह गर्न सक्ने मुरारको दाबी छ। साना तथा मझौला व्यवसायीका पीडा निकै दर्दनाक हुने भन्दै मुरारकाले त्यस्ता गुनासो सुन्न सक्ने र सरकारसमक्ष पुर्याउने क्षमता प्रधानसँग रहेको बताए। प्रधानले महासंघमा आएर गरेको त्यागलाई सम्मान गर्न पनि यसपटक उनलाई मतदान गरेर विजयी बनाउन मतदातालाई उनले आग्रह गरे।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ । निर्वाचनका लागि किशोर प्रधान र चन्द्र ढकालले आ(आफ्नो प्यानलसहित वरिष्ठ उपाध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन् । गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड(१९ का कारण स्थगित भएको थियो ।