काठमाडौं- उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका दुवै उमेदवार किशोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताएकी छन् ।
दुवै व्यक्ति महासंघका लागि आवश्यक भएकाले आगामी चुनावमा मिलेर जानुको विकल्प नरहेको अध्यक्ष राणाले बताइन् । अध्यक्ष राणाले दुवै व्यक्ति महासंघका लागि चाहिने व्यक्ति भएकाले महासंघमा अटनुपर्छ भन्ने लागेर नै आफूले मिलाउने प्रयास गरिराखेको स्पष्ट पारिन् ।
आफूले एकपटक फेरि दुवै उमेदवारलाई एक ठाउँमा राखेर कुरा गर्नेसमेत बताइन् । ‘‘अध्यक्षका रुपमा मैले दुवै जनालाई एउटा सशक्त उमेदवारका रुपमा देख्छु । दुईजना नै महासंघमा अटनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिको लागि कुरा भइरहेको छ,’’ उनले भनिन्, ‘‘अब निर्वाचनको समय पनि आयो । तिहार सकिएको अवस्था छ । छठपछि एकचोटि दुईजनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेकी छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नु पनि पर्छ ।’’
महासंघको हितका लागि भए पनि दुवैजनाले त्याग गर्नसक्नुपर्ने उनले बताइन् । कोभिडको परिस्थितिमा महासंघका कामहरुलाई प्रभावकारी बनाउन पनि दुवै व्यक्तिको आवश्यकता पर्ने भएको र त्यसका लागि दुवै व्यक्तिले त्याग गर्न सक्नुपर्ने अध्यक्ष राणाको भनाइ छ ।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ । निर्वाचनका लागि किशोर प्रधान र चन्द्र ढकालले आ-आफ्नो प्यानलसहित वरिष्ठ उपाध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन् । गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो ।