काठमाडौं– तिहारपछि खुलेको सेयर बजार आज बुधबार २३.३२ अंकले उकालो लागेर १७४१.८१ अंकमा अडिएको छ। यसदिन वाणिज्य बैंक समूहले भने बजार उकालो लाग्न मद्दत गरेन।
सेयर बजारको करिब ५० प्रतिशत हिस्सा ओगटेको वाणिज्य बैंक समूह १.२८ अंकले ओरालो लाग्यो। धेरै वाणिज्य बैंकहरुको नाफामा कमी आउनुका साथै उनीहरुले वितरण गर्ने मुनाफामा पनि कमी आएको विवरण सार्वजनिक भएपछि लगानीकर्ता अन्य कम्पनीप्रति आकर्षित भएका हुन्। यसदिन उत्पादनमूलक कम्पनीहरुप्रति लगानीकर्ता आकर्षित भएको देखिन्छ।
बजार बढ्नका लागि निर्जीवन, जीवन बीमा कम्पनी, उत्पादनमूलक कम्पनी र व्यापार समूहले साथ दिए। यसदिन व्यापार समूह १८१.०८, होटल ३९.६, फाइनान्स ८.४३, निर्जीवन बीमा कम्पनी ३९७.४८, उत्पादनमूलक कम्पनी २३५.४५, लघुवित्त १४.६, लाइफ इन्योरेन्स ५२१.३७, म्युचुअल फन्ड ०.१६ र अन्य २९.९७ अंकले उकालो लागेको छ।
वाणिज्य बैंक समूहसँगै जलविद्युत् १८.६१, विकास बैंक २०.६ अंकले ओरालो लागेको नेप्सेले जनाएको छ। दिनभर १९४ कम्पनीको १ करोड १६ लाख कित्ता ४ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
यसदिन सवैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ३३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनवेच भएको छ। त्यस्तै सवैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा नेपाल टेलिकम ३० करोड ८५ लाख, नेपाल लाइफ इन्स्योरेन्स २५ करोड ९४ लाख, शिवम् सिमेन्ट २२ करोड ७९ लाख, एनआइसी एसिया बैंक १८ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ।
बजार बढ्नुको कारण बजारमा ब्याजदरमा आएको कमी नै मुख्य कारक भएको लगानीकर्ताले बताएका छन्। ‘बैंकहरुसँग पर्याप्त तरलता भएका कारण प्रशस्त मार्जिन लेन्डिङ गरिरहेका छन्, जसका कारण ऋण लिएर पनि सेयर बजारमा लगानी गर्नेरु बढ्दा बजार बढेको हो,’ लगानीकर्ता संघका अध्यक्ष छोटेलाल रौनियारले भने।
आज बुधबार गोर्खा फाइनान्स, हिमालयन डिस्टिलरी, विशाल बजार कम्पनी, बोटलर्स नेपाल तराई र एसटीसीको कारोबार बढेर सर्किट ब्रेक लागेको छ। पछिल्लो समय यी कम्पनीहरुको नाफा राम्रो छ।
चालू आर्थिक वर्षको तीन महिनामा हिमालय डिस्टिलरीले ९२ प्रतिशत नाफा बढाएको छ भने बोटलर्स नेपाल तराई गत असारमा एक करोड रुपैयाँ नोक्सानीमा रहेकोमा गएकोमा गत असोज मसान्तसम्ममा २८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ।