सुर्खेत– कर्णाली प्रदेशमा यस वर्ष एक लाख २० हजार ९७१ मेट्रिक टन धान उत्पादन भएको छ। प्रदेशमा गत वर्षको भन्दा साढे पाँच प्रतिशत धान उत्पादन बढे पनि खाद्यान्न संकट भने कायमै छ।
यस वर्ष सुर्खेतमा ४२ हजार ८०३, रुकुम पश्चिममा आठ हजार ९७६, सल्यानमा २८ हजार ९००, दैलेखमा चार हजार ४४९ र जाजरकोटमा १० हजार ६६५ मेट्रिक टन धान उत्पादन भएको छ।
डोल्पामा ६०५, जुम्लामा दुई हजार ९००, कालिकोटमा नौ हजार ४८९, मुगुमा सात हजार ५७६ र हुम्लामा ७९० मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ।
गत वर्ष कर्णालीमा एक लाख १४ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो।
समयमै वर्षात् भएका कारण धान उत्पादनमा वृद्धि भएको हो। ‘यो वर्ष वर्षात् हुँदा किसानले समयमै धान रोप्न पाए’, निर्देशक चित्रबहादुर रोकायाले भने, ‘किसानको मेहनत र वर्षात्ले साथ दिएकै कारण धान उत्पादन बढेको हो।’
कोरोनाका कारण किसान समयमै घर आउनु र गोडमेलमा ध्यान दिनु जस्ता कारणले धान उत्पादन वृद्धि भएको रोकायाको तर्क छ
‘विदेश गएका किसान गाउँ फर्किए, खाद्यान्न अभाव हुने डरले राम्रोसँग गोडमेल गरे’, उनले भने।
प्रदेश सरकारले उत्पादन वृद्धिका लागि किसानलाई प्रेरित गर्नु, बाँझो जमिनमा पनि खेती गर्नु जस्ता कारणले धान उत्पादन बढेको हो।
यो वर्ष कर्णालीमा गत वर्षभन्दा १० देखि २० प्रतिशत बढी धान उत्पादन वृद्धि हुने अपेक्षा गरिएको थियो।
तर रासायनिक मल र सहल किराले धानको बिउमा क्षति पुर्याउँदा अपेक्षाअनुसार धान उत्पादन बढेन।
कोरोना महामारीका कारण कर्णालीमा पनि रासायनिक मल आयात भएको थिएन। धान रोप्ने र गोडमेल गर्ने समयमा रासायनिक मल नपाउँदा अपेक्षा गरेअनुसार धान उत्पादन नभएको कार्यालयले जनाएको छ।
कर्णालीका १० जिल्लामध्ये सुर्खेत, सल्यान र रुकुमपश्चिममा सबैभन्दा धेरै रासायनिक मल खपत हुन्छ। जुम्लामा रासायनिक मल प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
कालिकोट, मुगु, हुम्ला र डोल्पाका किसानले रासायनिकभन्दा प्रांगारिक मल प्रयोग बढी गर्छन्।
त्यस्तै सलह किराका कारण पनि अपेक्षा गरेअनुसार धान उत्पादन नभएको हो। सुर्खेत, जाजरकोट, सल्यान लगायतका जिल्लामा सलहले धान रोप्ने समयमा बिउमा क्षति पुर्याएको थियो।
धान उत्पादन बढे पनि किसानलाई वर्षभरि खान पुग्दैन। त्यसैले कर्णालीबाट बर्सेनि धेरै युवा रोजगारीका लागि भारतलगायत विभिन्न मुलुकमा जाने गरेका छन्। यस्तै विकट हिमाली क्षेत्रमा खाद्य संकटकोे समस्या छँदै छ।