काठमाडौं- विश्व बैंकका उपाध्यक्ष हार्टबिग सेफरले कोभिड-१९ महामारीको असर पुनरुत्थान गर्न नेपाललाई सघाउने प्रतिबद्धता दोहोर्यfएका छन्। सोमबार पाँच दिने नेपाल भ्रमण सम्पन्न गरेपछि उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मासँग अलग-अलग भेट गर्दै उपाध्यक्ष सेफरले नेपालको कोभिड-१९ खोपको तीव्र विस्तार तथा आर्थिक पुनरूत्थानमा जोडसहित कोभिड प्रतिकार्यको सह्राना गरे। विभिन्न बैंठकले सुधार कार्यान्वयन तथा द्रुत लगानी र नेपालको दिगो विकासका लागि सहकार्यको महत्वलाई समेत जोड दिएका थिए।
'२०७२ सालको भूकम्पलगायतका विविध आघातहरूबाट थप सशक्त रूपमा माथि उठेको र कोभिड-१९ महामारीबाट पनि थप सबल पुनर्निर्माणका लागि एउटा स्पष्ट नीति सहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो,' हार्टविग सेफरले भने, 'विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैंक गर्व गर्छ र नेपालको हरित, उत्थानशील र समावेशी पुनुरूत्थानका लागि हामी सरकार, विकास साझेदारहरु, निजी क्षेत्र, नागरिक समाज, र अन्य प्रमुख सरोकारवालाहरु मिलेर काम गर्न प्रतिवद्ध छौं।'
नेपालको हरित, उत्थानशील र समावेशी विकाससम्बन्धी गत असोज सात गते आयोजना गरिएको उच्च स्तरीय सम्मेलनको अवसरमा जारी गरिएको काठमाडौं घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैंक नेपाल सरकार र विकास साझेदारहरुको साथमा सहभागी भएको थियो।
उक्त घोषणापत्रले ग्रिड भिजन प्रतिको नेपाल सरकारको प्रतिबद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीति, संस्थागत कार्यलगायतका क्षेत्रहरू तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनासहित साझेदारहरूको सहयोगलाई एकताबद्ध गरेको छ।
'विकासको एक नयाँ आयामतर्फ लम्केकोमा म नेपालको प्रसंशा गर्न चाहन्छु। त्यो नयाँ आयाम नेपालको हरित, उत्थानशील र समावेशी विकासको खाका अर्थात ग्रिड हो। ग्रिड अवधारणाले जनता, पृथ्वी र नेपालको अर्थव्यवस्थाका लागि छोटो, मध्यम, तथा दीर्घकालीन रूपमा फाइदा प्रदान गर्नेछ,' उपाध्यक्ष सेफरले भने, 'नेपालको दिगो विकासलाई सुदृढीकरण गर्नका लागि काठमाडौं घोषणापत्रमा समर्थन र सहयोग गर्न पाउँदा विश्व बैंक निकै हर्षित छ।'
प्रादेशिक मुख्यमन्त्री र मेयर, र निजी क्षेत्रका प्रतिनिधिसँगको पनि बैठकमा पनि उपाध्यक्ष सेफर सहभागी थिए। उनले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजना निर्माणस्थल तथा प्रदेश नं १ मा ढल्केबर सबस्टेसनको पनि भ्रमण तथा अवलोकन गरे।
विश्व बैंकले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजनाको विकासका लागि तथा नेपाल–भारत उच्च भोल्युमको सिमापार विद्युत व्यापारलाई सहजीकरण गर्नका लागि नेपालकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको लागि सम्भाव्यता अध्ययन कार्यमा सहयोग गरिरहेको छ।