वीरगन्ज– वीरगन्ज महानगरपालिकाभित्रका प्याब्सन पर्सा अन्तर्गतका निजी विद्यालयले गत वैशाखदेखि भदौसम्मको शुल्क नलिने निर्णय गरेका छन्।
प्याब्सन पर्साको बैठकले यस्तो निर्णय गरेको प्याब्सन पर्साका अध्यक्ष डाक्टर हरिशंकर साहले जानकारी दिएका छन्। शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ मा उल्लेख भएअनुसार १५४ दिनमा ७० प्रतिशत पाठ्यक्रम पूरा गर्ने र शुल्क पनि लिन पाउने भनिएको भए पनि कोरोनाकालमा अभिभावकलाई परेको आर्थिक मारलाई मध्यनजर गर्दै पाँच महिनाको शुल्क नलिने निर्णय भएको उनले बताए।
अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयहरुको हकमा भने अभिभावकसँगको सहमतिमा असोज अगाडिको पनि शुल्क लिन पाउने गरी निर्णय गरिएको प्याब्सन वीरगन्ज महानगरपालिकाका नगर अध्यक्ष आलोक चौरसियाले बताए।
पर्सामा शुल्क मिनाहा गर्न जनप्रतिनिधि तथा नगर प्रमुखले पहल गरेका थिए। वीरगन्ज महानगरपालिका शैक्षिक महाशाखाका प्रमुख अर्विन्दलाल कर्णले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अनलाइनबाट भइरहेको कक्षामा अझै पनि दुविधा रहेकाले यस विषयमा नेपाल सरकारको निर्णय नै अन्तिम निर्णय हुने प्रतिक्रिया दिए।