काठमाडौं- हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको नेपाल–चीन सीमा समस्यासम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ। समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको टोलीले उक्त प्रतिवेदन आइतबार गृहमन्त्री खाणलाई बुझाएको हो।
प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्यतथ्य पत्ता लगाई तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन्।
समितिले सीमालगायतको द्विपक्षीय विषयहरू संयुक्त निरीक्षण समूह, संयुक्त विज्ञ समूह र संयुक्त निरीक्षण समितिमार्फत समाधान गर्न सुझाव दिएको छ।
गृहमन्त्री खाणले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको र अध्ययनमा समितिले औंल्याएका विषयवस्तु कार्यान्वयन सरकारको प्राथमिकतामा पर्नेसमेत बताएका छन्।
प्रतिवेदनबारे संक्षिप्त जानकारी दिँदै अध्ययन टोलीका संयोजक सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाणलाई जानकारी गराएको र बाँकी प्रतिवेदनमा भएका विषयहरू सरकारले नै समयानुसार सार्वजनिक गर्ने बताएका छन्।